निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम सोमबारदेखि नै लागू हुने गरी ३२ जना जिल्ला न्यायाधीश विभिन्न स्थानमा मुख्य निर्वाचन अधिकृत र ६ जना राजपत्राङ्कित कर्मचारीलाई निर्वाचन अधिकृत नियुक्त गरेको हो ।
जसअनुसार दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा हुने वडा अध्यक्ष निर्वाचनको लागि जिल्ला न्यायाधीश पुष्पराज पाण्डेलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्धारित कार्यतालिका अनुसार नियुक्त मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतबाट कात्तिक ३० गते सम्बन्धित स्थानीय तहको केन्द्र तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन व्यवस्थापन सम्बन्धी कार्यसम्पादन गर्नेछन् ।