वडा अध्यक्षका लागि उपनिर्वाचन : काग्रेंस एमाले उम्मेदवारकाे टुंगाे, माओवादी टुंगो लगाउँदै

दुहुँ गाउँपालिका–५ को वडाध्यक्षका लागि उपनिर्वाचन हुने भएपछि दार्चुलामा राजनीतिक दल उम्मेदवार छनोटमा व्यस्त भएका छन् । आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि उम्मेदवार छनोट सुरु भएको हो ।
गत स्थानीय तह निर्वाचनमा दुहुँ गाउँपालिका वडा नम्बर ५ मा माओवादी केन्द्रका मनोरथ भट्टले ५८२ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका मानसिह बडालले ३०२ मत ल्याएका थिए । तर भट्टको निधनपछि अहिले निर्वाचन हुन लागेको हो ।
०७९ मा भएको निर्वाचनमा दुहुँ गाउँपालिकामा नेकपा एमालेले पालिका अध्यक्षसहित बहुमत सदस्य जितेको थियो । अहिले पनि नेकपा एमालेले मानसिह बडाललाई नै पुन उम्मेदवार घोषणा गरेको छ । नेकपा एमाले दार्चुलाका सचिव उमेशराज जोशीका अनुसार वडा कमिटीबाट आएको नामको आधारमा उम्मेदवार टुंग्याइएको हो ।
यस्तै नेपाली काग्रेसले वडा सभापति धन बहादुर कुवँरलाई उम्मेदवार बनाएको दुहुँ गाउँपालिका उपाध्यक्ष एवं नेपाली काग्रेसका नेता शान्ति बमले जानकारी दिइन् ।
नेकपा माओवादी केन्द्र दार्चुलाले भने सोमबारसम्म उम्मेदवारको नामावली टुंग्याउने तयारी भएको माओवादी केन्द्र दार्चुलाका संयोजक पदमराज पन्तले बताए । वडा तहबाट तीन चार जनाको नाम आएको छ उनले भने, अहिले छलफल जारी छ ।
जिल्ला निर्वाचन कार्यालय, दार्चुलाले निर्वाचनको लागि आवश्यक तयारी भइरहेको जनाएको छ । जिल्ला निर्वाचन अधिकारी प्रदीपसिह धामीले कार्यालयको तर्फबाट गर्ने कामहरु निरन्तर भइरहेको बताए ।
दुहुँ गाउँपालिका वडा नम्बर ५ मा योपटक दुर्गास्थान आधारभूत विद्यालयमा मतदान स्थल तोकिएको छ, भने क र ख मतदान केन्द्र बनाइएको निर्वाचन अधिकारी धामीले बताए । यो ठाउँमा एक हजार दुई सय बढि मतदाता रहेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार