खाद्य तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा धान खरिद गर्न शुरू गरेको छ । कम्पनीको प्रादेशिक कार्यालय धनगढीले आजदेखि धान खरिद गर्न शुरू गरेको हो ।
यस वर्ष कैलालीको मोहनपुर, टीकापुर र सत्ती गरी तीन वटा गोदामका लागि ६ ठाउँबाट ५५ हजार क्विन्टल मोटा धान खरिद गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । यस वर्ष सरकारले मोटा धानको खरिद मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ ।
किसानले धान बिक्रीका लागि परिचय खुल्ने कागजात, वडा कार्यालयको सिफारिश र स्वघोषणा–पत्र ल्याउनुपर्ने कम्पनीको सूचनामा उल्लेख छ । किसानको समर्थन मूल्यभन्दा व्यापारीले बढी मूल्यमा धान खरिद गरेपछि गएको वर्ष कम्पनीले कैलालीमा लक्ष्यअनुसार धान खरिद गर्न सकेको थिएन ।