दार्चुलामा जीप दुर्घटना हुँदा १० जना घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ आइरहेको से १ ज १०२२ नम्बरको जीप बिहीवार दिउँसो साढे १२ बजेतिर मालिकार्जुन गाउँपालिका–८ धामीगडामा दुर्घटना भएको हो ।
जीप अनियन्त्रित भएर सडक छेउको नालीमा खस्दा जीपमा सवार १० जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिए ।

उनका अनुसार घाइते हुनेमा मालिकार्जुन गाउँपालिका–८ थकतोली बस्ने अन्दाजी वर्ष ५० की मानमती जोशी, नौगाड गाउँपालिका–६ रैचुका ३४ वर्षीय धनजीत धामी, उनकी ९ वर्षीया छोरी सुन्तली धामी, शैल्यशिखर नगरपालिका–९ नाइलकी ४५ वर्षीया राधा पार्की, उनका २० वर्षीय छोरा सुसिल पार्की, १४ वर्षीय आकाश पार्की र सोही ठाउँकी ६५ वर्षीया मानमती ओड रहेका छन् ।

यस्तै दुर्घटनामा भारतको धारचुला तपोवनका ३६ वर्षीय भुपेन्द्र भट्ट, उनकी ३२ वर्षीया श्रीमती पार्वती भट्ट, ९ वर्षीय छोरी तनुजा भट्ट घाइते भएका छन् । घाइते मध्ये ९ जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइते भएका आकाश पार्की भने उपचारपछि घर फर्किसकेको बताइएको छ । जीप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार