आहा ! दार्चुलाको अर्गानिक स्याउँ

अपिहिमाल गाउँपालिका–२, ३ र ४ मा यो वर्ष लटरम्मै स्याउँ फलेको छ । हिमाली क्षेत्रमा स्याउँ फल्दा किसान खुसी छन् । किसानले उत्पादन गरेका स्याउँ स्थानीय बजारमा विक्री समेत हुन थालेको छ ।
दार्चुलाको अपिहिमाल गाउँपालिका मात्र होइन्, व्याँस गाउँपालिकाको छाङ्गरु, बुदी, दुम्लीङ, दुहुँ गाउँपालिका, नौगाड गाउँपालिका र मार्मा गाउँपालिकाका केही ठाउँमा स्याउँ फल्ने गर्छ । केहि किसानले पहिल्यैदेखि स्याउँ उत्पादन थालेका थिए । तर धेरै जसो स्याउँ उत्पादन र व्यवसायिक स्याउँ लगाउन थालेको तीन चार वर्ष भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएपछि किसानले व्यवसायिक रुपमा स्याउँ उत्पादन थालेका छन् । जिल्लाका दुई सय हेक्टर क्षेत्रफलमा अहिले स्याउँ लगाउने काम भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई दार्चुलाका प्रमुख एवं कृषि अधिकृत कमल तामाङले बताए ।
जिल्लामा २०७६÷७७ देखि पाँच वटा स्थानीय तहमा स्याउँलाई व्यवसायिक बनाइन थालेको हो । अहिले केहि किसानले राम्रै स्याउँ उत्पादन गरेका छन् । ‘अपिहिमालका केहि किसानको स्याउँ साच्चै स्वादिष्ट पाइएको छ,’ कृषि अधिकृत तामाङले भने, ‘अझै किसानलाई स्याउँ उत्पादनबारे तालिम आवश्यक छ ।’
अझै बजारमा स्याउँ ल्याइ हाल्ने अवस्था छैन् । स्याउँ खासगरी असोजको महिनामा टिप्दा राम्रो हुने कृषि विज्ञ तामाङ बताउँछन् । केहि दिन अघि नौगाड र मार्माका केही किसानले बजारमा स्याउँ पु¥याएको थियो । खासगरी जंगली जनावरको प्रकोपका कारण किसानले छिटो स्याउँ टिपेका रहेछन् । अपिहिमाल, व्याँस, नौगाड र मार्मामा स्याउँ राम्रै उत्पादन भइरहेको जानकारी कार्यालयलाई आएको छ ।
स्याउँ जोन सञ्चालक समितिका अध्यक्ष एवं अपिहिमाल गाउँपालिका–४ का स्याउँ कृषक बालकुमारी बोहरा यो वर्ष असिनाले स्याउँमा थोरै क्षति पु¥याए पनि उत्पादन भने राम्रो भएको बताउँछिन् । ‘माथिल्लो क्षेत्रमा फलेको स्याउँमा क्षति पुगेको छ,’ उनले भनिन्, ‘तल्लो क्षेत्रमा भने स्याउँ राम्रै छ ।’ अहिले अपिहिमाल गाउँपालिकामै स्याउँ प्रतिकिलो २ सय रुपैयाँमा विक्री हुने गरेको छ ।
असिना पानी कम भएको भए अझै स्याउँ उत्पादन राम्रो हुने रहेछ, अपिहिमाल गाउँपालिका–३ का रणबीर मन्यालले भने । अपिमा उत्पादन भएको स्याउँ रसिलो र मिठो छ । स्याउँको लागि अहिले नै बजार खोजिहाल्नुपर्ने अवस्था छैन् । गाउँकै स्थानीय बजारमा पनि बिक्री राम्रो हुने गरेको उनले बताए ।
व्याँस गाउँपालिका–१ बुदीमा फल्ने स्याउँ भने नेपालतर्फ बाटो नहुँदा विक्रीमा समस्या हुने गरेको छ । स्याउँ उत्पादक चरनसिह बुढाथोकीका अनुसार स्याउँ उत्पादन भन्दा पनि ढुवानीमा बढि खर्च हुने अवस्था आएको उनले बताए । गत वर्ष खलंगामै भारतीय बाटो भएर स्याउँ विक्री गरिएको थियो, उनले भने, यो वर्ष स्याउँ बोटमै ठेक्कामार्फत विक्री गरेका छौं । झण्डै ३०÷४० क्वीन्टल बढि स्याउँ बुदिमा मात्रै उत्पादन भएको थियो ।
जिल्लामा हरेक वर्ष स्याउँ उत्पादन बढदै गएको छ । कृषि ज्ञान केन्द्र दार्चुलाका अनुसार गत वर्ष जिल्लामा १७० हेकक्टर जिमनमा मात्रै स्याउँ खेती गरिएको थियो । हरेक वर्ष किसानको माग र व्यवसायिक किसानको मेहनतले स्याउँतर्फ आकर्षण समेत बढेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत तामाङका अनुसार गत वर्ष २ हजार ३७५ बोट स्याउँ किसानलाई अनुदानमा वितरण गरिएको थियो । किसानको मागको आधारमा मौसम सुहाउँदो इटाली, गाला फुजी रोयल, डेलिसियस, गोल्डन डेलिसियस जातका स्याउका लगाइएको छ ।
यहाँको स्याउँ किसान र ग्राहकले पनि रुचाएका छन् । बजारमा पाइने भारतीय स्याउँको तुलनामा स्थानीय उत्पादन गरिएको स्याउँ रसिलो र मिठो भएको प्रतिक्रिया आएको कार्यालयले जनाएको छ ।
चालू आर्थिक वर्षमा किसानलाई अझै व्यसायिकरण बनाउन स्याउँ उत्पादन, गोडमेल लगाउने तरिका, ग्रेडिङ लगायतका विषयमा किसानलाई तालिम दिइने तयारी छ ।

सम्बन्धित समाचार

ताजा समाचार