दार्चुला दुहुँ गाउँपालिकामा शिक्षाको सुधार गर्न त्रिपक्षीय छलफल गरिएको छ । दुहुँ गाउँपालिकाको समन्वय गुड नेवर्स इन्टरनेशलको आर्थिक तथा प्राविधिक सहयोग र सिआरडिएस सहजीकरणमा छलफल कार्यक्रम गरिएको हो ।
कार्यक्रमअन्तर्गत बुधबार दुहुँ गाउँपालिका–५ स्थित ब्रह्म आधारभूत विद्यालय पासुमा अन्तरक्रिया गरिएको हो । खासगरी बालबालिकाको सिकाईमा अभिभावकको भूमिकाबारे छलफल गरिएको छ ।
सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर कमजोर देखिएको अवस्थामा अभिभावक, विद्यालय र विद्यार्थीहरूबीचको त्रिपक्षीय सम्बन्धसुधार गर्ने उद्देश्यले व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र अभिभावकहरूको भेला गराइएको छ ।
विद्यार्तीले गृहकार्य गर्नमा सहयोग, नियमित विद्यालय पठाउने, अतिरिक्त पठन सामग्रीको व्यवस्थापन, मनोरञ्जन तथा खेल सिकाउने, कक्षाकोठामा पूरा समय नबस्ने समस्या लगायतको विषयमा गहन छलफल गरिएको बताइएको छ ।
खासगरी अभिभावकले सिकाई अवस्था र उपलब्धि, विषयगत सिकाई अवस्था, बालबालिकाहरूको सरसफाई र सहपाठी सम्बन्ध, अभिभावकहरूको विद्यालयमा उपस्थिति, अभिभावकद्धारा स्थानीय शैक्षिक सामग्री निर्माण, कक्षाकोठा व्यवस्थापनमा अभिभावकहरूको सहयोगको विषयमा समेत छलफल गरिएको छ ।
२०२४ को कार्यक्रम अन्तर्गत गुड नेवर्सले सन् दुहुँ गाउँपालिकाको दुर्गास्थान खेति, गणेश मावि सिमली, जनविकास मावि बारबाज, दुर्गा आवि गरमोरा, हुनैनाथ आवि बस्पाली, दहधार आवि गुना, मष्टकेदार आवि गोकुल र धारीपाटा मावि धारीमा कार्यक्रम गरेको छ ।
यस्तै मालिकार्जुन गाउँपालिका वडा नं.१ स्थित निलपातलेश्वर मावि भर्तोलामा बालमैत्री कक्षाकोठा (१–३) तथा प्रारम्भिक बालविकास कक्षाकोठामा बसाई व्यवस्थापन सामग्री कार्पेट, पिफर्म, कुसन, डोरमेट, गोलो टेबल, जुत्ता राख्ने र्याक, किताब राख्ने र्याक, सामग्री राख्ने र्याक र बालविकासका लागि सिकाई सामग्री वितरण गरिएको छ ।