देउडा संस्कृति जोगाउन देउडा

धुरा फुल्यो धुमबुरास, भिडाइ फुल्यो तीति
संस्कृति हराउन लाग्यो के गर्दाउला दिदी ।
दार्चुला सदरमुकाम खुलामञ्चमा आयोजित देउडा प्रतियागितामा व्याँस गाउँपालिका–३ सीनाका चर्चित देउडिया निर्मला धामीले यही गीतको टुक्काले देउडा संस्कृति हराउँदै गरेको संकेत दिन्छ ।
देउडा प्रतियोगितामा १८ जना देउडाबीच उत्कृष्ट हुँदै प्रथम स्थान हासिल गरेका निर्मलाले संस्कृति हराउन लागेकोमा चिन्ता व्यक्तमात्रै गरिनन्, यसको संरक्षण गर्नुपर्नेमा सबैको सहयोगको आवश्यकत्ता औल्याइन् ।
खासगरी विगतमा हाम्रो क्षेत्रतिर दुई जना भेट हुँदा हालखवरदेखि पारिवारिक, इष्टमित्रसम्म देउडाबाटै सोध्ने गरिन्थ्यो । देउडा सुरू भएपछि वरिपरि झुम्मिनेहरू पनि उत्तिकै हुन्थे । देउडा भनेपछि जो कोही पनि खेल्नुपर्छ । यो हाम्रो सांस्कृतिक परम्परा हो भनेर सम्झिन्थे । तर विस्तारै प्रविधिमा आएको विकास र पश्चिमा संस्कृतिका कारण मौलिक देउडा हराउन लागेकोमा देउडा संस्कृति संरक्षण प्रतिष्ठानले चिन्ता व्यक्त ग¥यो । र गौरा तथा तीजको अवसर पारेर सदरमुकाम खलंगामा देउडा प्रतियोगिता आयोजना गरेको थियो ।
विगतमा हरेक मेला पर्व, विहे भोज भतेरमा होस कि रोपाइ लगाउँदा मेलापात जाँदा देउडा गुञ्जयमान हुन्थ्यो, निर्मलाले भनिन्, तर अहिले बिरलै मात्रै देउडा सुनिन्छ ।
हामीहरु युवा अवस्थामा रात दिनसमेत देउडा खेल्ने गरेको उनी सम्झिन्छन् । तर अहिले विगतको जस्तो देउडा कमै भेटिन्छ । उनले गाउँने देउडामा स्थानीय रहनसहनको चर्चा समेत गरेकी थिइन् ।


उनले मात्र होइन् देउडामा द्वितीय स्थान गरेकी कलावती ठगुन्नाले बुढापाकाले जोगाएर राखेको संस्कृति युवापुस्ताले पनि सम्हाल्नुपर्ने बताइन् । अधिकांश देउडियाहरुले मौलिक संस्कृति रहेको देउडा संरक्षणमा सबैले आ–आफ्नो ठाउँमा लाग्नुपर्ने गीतमार्फत सन्देश दिए ।
आफ्नै मौलिक पहिरनसहित महिलाहरु खलंगा खुलामुञ्च पुगेका थिए । पछिल्लो समय हरेक वस्तीका महिलाहरुले पोसाक बनाएका छन् । भेषभुषा जोगाउन स्थानीय सरकारले समेत पहल गरेपछि महिलाहरु लागि परेका छन् ।


खलंगामा आयोजित देउडा प्रतियोगितामा बोल्दै जिल्ला समन्वय समिति प्रमुख महादेव बडू कस्यपले जिल्लाको संस्कृति जोगाउने देउडा संस्कृति संरक्षण प्रतिष्ठानले जमर्को गरेकोमा धन्यवाद दिए । उनले भने, हराउँदै गएको मौलिक संस्कृतिलाई जगेर्ना गर्ने काम हामीसबैको हो । महिलाले मात्र होइन संस्कृति संरक्षणमा पुरुषको पनि दायित्व उतिकै हुनुपर्छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले सुदूरपश्चिमको आ–आफ्नै मौलिक संस्कृति रहेको भन्दै यसलाई जोगाउनु अहिलेको मुख्य चूनौति भएको बताए ।
देउडा संस्कृति संरक्षण प्रतिष्ठानका महासचिव किस्नानन्द अवस्थीले जिल्लाको देउडा संस्कृतिको जगेर्ना गर्न प्रतिष्ठानले काम गरिरहेको बताए ।

सम्बन्धित समाचार

ताजा समाचार