दार्चुला । चिनियाँ पक्षको आमन्त्रणपछि चीनको (बुराङ काउन्टी) ताक्लाकोट पुगेका दार्चुलाका व्यापारी अलपत्र परेका छन् । गत साउन ३ गते ताक्लोकाट गएका छाङ्गरु र तिंकरका २७ जना व्यापारी ताक्लाकोटमा अलपत्र परेका हुन् ।
ताक्लाकोट पुगेका व्यापारीहरुले पुरानै व्यापार व्यवसाय सञ्चालन गर्न चीनले अनुमति दिएको छैन् । वर्षौैदेखि त्यहिँ व्यापार गर्दै आएका व्यापारीहरुलाई चीनिया पक्षले पसल खोल्ने अनुमति नदिदा आफुहरु अलपत्र परेको व्यापारी योगेश बोहराले बताए ।
‘चार वर्षदेखि बन्द रहेको तिंकर नाका ३ साउनदेखि खुला भएको थियो । नाका खुलेलगत्तै चिनिया पक्षकै आमन्त्रणपछि यहाँ आएका हौं,’ बोहराले भने, ‘तर हालसम्म हामीलाई पसल सञ्चालन गर्न दिइएको छैन् । अहिले होटलमा बसेर दिन बिताएका छौं ।’
ताक्लाकोट प्रवेश दिने तर व्यापारको लागि ठाउँ नदिदा आफुहरु मार्कामा परेको उनले बताए । नेपालीले परम्परागत व्यापार स्थानमै व्यापार व्यवसाय सञ्चालन गर्न यहाँका सबै पक्षसँग आग्रह गरेका छौं । नेपालमा पनि यो विषयमा जानकारी गराएका छौं बोहरा भन्छन्, तर अहिलेसम्म सकारात्मक नतीजा कहिबाट आएको छैन् ।
अनौपचारिक आमन्त्रणपछि छाङ्गरुका १५ र तिंकरका १२ जनाको टोली ताक्लाकोट गएका थिए । कोभिडयता बन्द रहेको नाका सरकारीस्तरबाटै औपचारिक रुपमा गर्ने तयारी गरिएको भए पनि चिनिया पक्षले दुई पटक तयारी नपुगेको भन्दै रद्ध गरेको थियो । पहिलो पटक असार ११ गते र दोस्रोपटक असार २६ गते नाका औपचारिक रुपमा सञ्चालन भएको घोषणा गर्ने तयारी थियो । दुवै मितिमा नाका सरकारीस्तरबाट खुल्न नसकेपछि स्थानीयलाई अनौपचारिक रुपमा ताक्लाकोट प्रवेश चीनले दिएको थियो ।
अहिले ताक्लाकोट पुगेका डेढ साता बढि वित्दा पनि व्यापार व्यवसाय गर्न नपाएको भन्दै व्यापारी निरास भएका छन् ।
ताक्लाकोटमा रहेका व्यापारीहरुले आफुलाई व्यापार गर्न नपाएको र पसल खोल्न नपाएको विषयमा जानकारी गराएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । ‘मौखिक जानकारीमा व्यापारी मार्कामा परेको भन्ने जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘यो विषयमा माथिल्लो निकायमा पहल भइरहेको छ ।’
यसैबीच व्याँस गाउँपालिका–१ छाङ्गरु र तिंकरका व्यापारीले ताक्लोकाटमा प्रवेश गर्न पाएपनि व्यापार गर्न नपाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन बुझाइएको छ । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री गणेशसिह ठगुन्ना नेतृत्वको टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी व्यापार सञ्चालनको लागि पहल गरिदिन आग्रह गरेका छन् ।
ज्ञापन पत्रमा भनिएको छ, ‘तिंकर नाकाबाट स्थानीय ताक्लाकोट प्रवेश गरेका तर त्यहाँ व्यवसाय सञ्चालन गर्न र पसल खोल्न पनि हालसम्म नपाएकोले परम्परागत रुपमा सञ्चालन गरेका पसलहरु सञ्चालनको लागि चीन सरकार र नेपालस्थित चीनियाँ राजदुताबासमा कुटनीतिक पहलको लागि निवेदन पेश गर्दछौ ।’
जिल्ला प्रशासन कार्यालय दार्चुलाले चीनको ताक्लाकोट जानको लागि १८७ जनाको पास वितरण गरेको छ ।

चीनको ताक्लाकोट पुगेका दार्चुलाका व्यापारी अलपत्र

