निर्मला पन्तका हत्याराको अत्यन्त नजिक पुगिसकेका छौँ : गृहमन्त्री रवि

काम चलाउ सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आइतबारदेखि बिदा भएका छन् ।
दोस्रो कार्यकाल करिब ४ महिना गृहमन्त्रालय सम्हालेर बिदा हुने क्रममा उनले कञ्चनपुरको उल्टाखामकी किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा अभियुक्त नजिक पुगेको दाबी गरेका छन् ।

उनले बलात्कारपछि मारिएकी निर्मलाको हत्यारा पत्ता लगाउने विषयमा अत्यन्त नजिक पुगेको बताएका हुन् । आफूलाई बारम्बार उक्त घटनाबारेमा प्रश्न सोधिए पनि रिजल्ट आएपछि भन्ने भनेर बसेको उनले बताए ।

‘निर्मला पन्तको विषयमा अत्यन्त नजिक पुगेका छौँ हामी । एकदमै नजिक’, उनले भने, ‘बारम्बार मलाई सोधियो, मैले कहिले पनि भनिनँ । किनकी रिजल्ट आएपछि भनौँला भनेर । हामी कति नजिक छौँ, सुरक्षा निकायलाई थाहा छ ।’
बलात्कारपछि भएको निर्मलाको हत्याकाण्ड नेपालकै एक बदनाम हत्याकाण्डमध्ये एक हो । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मलाको बलात्कारपछि हत्या भएको थियो ।
वि.सं २०७५ साउन १० गते कञ्चनपुरको महेन्द्रनगरस्थित उल्टाखाममै साथीको घरबाट हराएकी उनको शव भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार