शुक्रबारदेखिको निरन्तर वर्षाका कारण महाकाली नदिको सतह बढ्दै गएपछि प्रहरीले सीमा नाकाहरुमा माइकिङ थालेको छ । जोखिम स्थानमा स्थानीयको आवतजावत गर्न नदिन प्रहरीले माइकिङ गरेको हो ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनारमा नजान सबै स्थानीयलाई आग्रह गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीले आइतबार सदरमुकाम क्षेत्रको रिङगलताल, बंगाबगड क्षेत्रमा बिहानैदेखि माइकिङ गरेर सबैलाई सचेत गराएको छ ।
बंगाबगड, विरेन्द्र बन लगायतका क्षेत्रमा स्थानीयले महाकाली नदीबाट बालुवा निकाल्ने काम गर्ने गर्छन् । यस्तै दाउँरा संकलन गर्ने, नदी किनारमा मानिसहरुको भीड लाग्ने गरेको कारण प्रहरीले माइकिङ गरेर सावधानी अपनाएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहानैदेखि आकस्मिकबाहेक अन्य नागरिकलाई सीमा पुलहरूमा आवतजावतमा कडाइ गरिएको छ । तिगर घाटमा भारतपट्टीबाट आएको चट्टानका कारण पुल नै जोखिममा परेको छ । यो क्षेत्रमा पुल पूरै जोखिममा छ ।
जिल्ला सदरमुकाम खलंगामा रहेको पुलघाट खलंगा, तिग्रम, दत्तु, जौलिजिवी, बाकु, लाली, मल्घट्टे, माललगायतका पुलहरूमा आकस्मिकबाहेकको आवतजावत नगर्न स्थानीयलाई आग्रह गरिएको छ ।
