दार्चुलाका नौ वटै स्थानीय तहमा भेटिए क्षयरोगका विरामी

दार्चुलाका सबै स्थानीय तहमा क्षयरोग अर्थात टिबीका विरामी फेला परेका छन । सबै ठाउँमा चेकजाँच गर्ने क्रममा १२८ जनामा क्षयरोगका विरामी फेला परेका हुन् ।
स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख एवं बरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुँवरका अनुसार दार्चुलाका ९ वटै स्थानीय तहमा क्षयरोगका बिरामी फेला परेका छन् । सबैभन्दा बढी महाकाली नगरपालिकामा ५७ जना क्षयरोगका बिरामी फेला परेका छन् ।
यस्तै नौगाड गाउँपालिकामा १५ जना, मार्मा गाउँपालिकामा १४ जना, दुहुँ गाउँपालिकामा १३ जना, ब्याँस गाउँपालिकामा १० जना र शैल्यशिखर नगरपालिकामा ७ जना फेला परेका छन् । यस्तै अपिहिमाल गाउँपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकामा समान ४÷४ जनामा क्षयरोगका विरामी देखा परेका छन् ।
क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने, माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामको सुक्ष्म कीटाणुबाट हुने सरुवा रोग हो । एकजना संक्रमित बिरामीबाट २० जनासम्ममा क्षयरोग सर्न सक्ने सम्भावना हुन्छ । नियमित औषधि सेवनले यो रोग निको हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

क्षयरोग लक्षण : कसरी थाहा पाउने ?
क्षयरोग अर्थात टिबी रोग । धेरैलाई थाहा छ, यो एक सरुवा रोग हो । क्षयरोग कसरी लाग्छ, यसका लक्षण केकस्ता हुन्छन् भन्ने विषयमा भने धेरैलाई जानकारी नहुन सक्छ ।
दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, खोकीसँगै खकारमा रगत देखिनु, हल्का ज्वरो आउनु क्षयरोगको सामान्य लक्षण हो । क्षयरोगका यसबाहेक पनि अन्य धेरै लक्षण छन् । यी लक्षण हेरेर क्षयरोग लागे÷नलागेको थाहा पाउन सकिन्छ ।
सामान्यतया क्षयरोग माइक्रोबैक्टेरियम ट्यूबरकुलोसिस नामक व्याक्टेरियाको संक्रमणका कारण हुने रोग हो । कुनै पनि क्षयरोगीको सम्पर्कमा आउनाले यो रोग सर्ने जोखिम हुन्छ । अस्वस्थ जीवनशैली तथा अस्वस्थकर खानपानका कारण पनि मानिसलाई क्षयरोगको संक्रमण हुने खतरा बढ्छ ।

क्षयरोगको लक्षण
–क्षयरोग लागेको सुरुवाती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुने गर्छ, कमजोरी महसुस हुन थाल्छ । मानिसहरूले यस्ता लक्षणलाई गम्भीरतापूर्वक लिँदैनन्, जसकारण विस्तारै क्षयरोगको व्याक्टेरियाले संक्रमण भई गम्भीर समस्या निम्त्याउँछ ।
–रुघाखोकी लाग्नु, ज्वरो आउनु क्षयरोगको प्रारम्भिक लक्षण हो । सामान्यतया यस्ता समस्या पाँच दिनभित्रमा ठिक पनि हुन्छन् । तर, लगातार रुघाखोकी लागिरह्यो, ज्वरो कम भएन, दुई हप्तासम्म पनि खोकी रहिरह्यो भने तुरुन्तै चिकित्सककहाँ जानुपर्छ । यो क्षयरोगको संकेत पनि हुनसक्छ ।
–क्षयरोग लागेमा विरामीलाई राती धेरै पसिना आउँछ । मुख सुक्ने गर्छ । खान मन लाग्दैन र तौल अचानक कम हुन थाल्छ ।
–क्षयरोगको संक्रमण भएमा मानिसको खकारमा रगत देखिन्छ । सास लिनसमेत समस्या हुने गर्छ । यस्ता लक्षण देखिए तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।
–क्षयरोगको संक्रमण जोसुकैलाई हुनसक्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसलाई यसले चाँडै असर गर्ने हुँदा घरपरिवारमा कसैलाई क्षयरोग लागेको छ भने परिवारका अन्य सदस्यले पनि कम्तीमा एक पटक खकारको जाँच गर्नुपर्छ ।

सम्बन्धित समाचार

ताजा समाचार