सदरमुकाम खलंगामा गर्मी बढेसँगै व्याँस गाउँपालिका–१ छाङ्गरु र तिंकरका स्थानीयको कुञ्चा सरेको छ । दुवै गाउँका स्थानीय पशुचौपायासहित गाउँ पुगिसकेका छन् ।
अहिले छ महिनादेखि बन्द रहेका छाङ्गरु र तिंकरका गाउँका ढोका खुलेका छन् । गत मंसिरमा खलंगा आउँदा घरमा ताला लगाएर आएका सौका समुदाय यो साता छाङ्गरु तिंकर फर्किएका हुन् । घरको एक जना गाउँ पुगिसकेका छन्, व्याँस गाउँपालिका–१ का वडाअध्यक्ष अशोकसिह बोहराले भने ।
खेतीपाति भित्र्याउने देखि यार्सागुम्बा संकलनको तयारी भइसकेको छ । यो वर्ष पानी कम परेको कारण यार्सागुम्बा संकलनको लागि स्थानीय हिडेका छन् । उनीहरुले भारतीय अनुमति लिएर गाउँ पुगेका छन् । वर्षौदेखि स्थानीयले ‘आफ्नै गाउँ जान भारतीय अनुमति र भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता छ,’ बोहरा भन्छन् । भारतले अनुमति र बाटो नदिने हो भने गाउँ पुग्नै सकिँदैन ।
देशको सबैभन्दा चर्चा पाइरहने ठाउँ, राजनीतिक रूपमा झनै मुद्दा बनिरहने व्यास–१ का छाङ्गरु र तिंकर गाउँ पुग्न नेपालतिर बाटो छैन । मान्छे पैदल हिँड्नसमेत बाटो नभएपछि यहाँका दुई गाउँका नागरिक भारतीय बाटोमा निर्भर छन् । बाटो निर्माण गर्न पटकपटक चर्चा हुन्छ । थोरै बजेट विनियोजन हुने गरेको कारण वर्षेनी बाटो अधुरै निर्माण हुने गरेको वडा सचिव विनोद बुढाथोकी बताउँछन् ।
उत्तरी क्षेत्रको छाङ्गरु र तिंकर गाउँ छ महिनासम्म सुनसान थियो । छाङ्गरुमा घर हेरालुको रुपमा स्थानीय बस्ने गरेपनि तिंकर गाउँमा कोहि बस्दैनन् । जौ फापर, उवा, आलुलगायतका अन्न उत्पादन हुने हिमालको काखमा रहेको यो गाउँ सुनसान भएको छ महिनापछि घरका ताला खुलेको छ ।
स्थानीय वीरेन्द्र तिंकरीे, ‘छ महिना ढोकामा पूरै ताला लगाएर आएका हौं, अहिले गाउँ पुगेपछि ताला खुलेको छ । छाङ्गरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरी बाह्रै महिना बसोबास गर्छन्, भने तिंकरमा भने कोही बस्दैनन् ।







