महाकाली नगरपालिकाको वडा नम्बर ८ असिगडामा निर्माणाधिन महाकालीको मोटरपुलमा एकीकृत सरकारी भवन निर्माणको गृहकार्य थालिएको छ । नेपाल–भारत जोड्ने १ सय १० मिटर लामो दुई लेनको मोटरपुल निर्माण भइरहेको अवस्थामा नेपालतर्फ सरकारी संरचना निर्माणको पहल सुरु भएको हो ।मोटरपुल निर्माण कार्य भारत सरकारको लगानीमा भइरहे पनि नेपालतर्फ सरकारी संरचना स्थापनाका लागि पूर्वाधार निर्माणको तयारी भइरहेको छ । संघीय सरकारले चालू आर्थिक वर्षको बजेटमा ५० लाख रुपैयाँ ‘एकीकृत सरकारी कार्यालय भवन निर्माण’का लागि विनियोजन गरेको छ ।शहरी विकास मन्त्रालयअन्तर्गतको सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय डोटीमार्फत भवन निर्माणको बजेट प्राप्त भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरन जोशीले बताउनुभयो । आयोजनाले भवनको संरचना निर्माणका लागि जमिनको व्यवस्थापन गरिदिन जिल्ला प्रशासनलाई अनुरोध गरेको छ ।निर्माण भइरहेको मोटरपुल क्षेत्रमा ३ वटा कित्ताको सार्वजनिक जमिन रहेकोले सोही क्षेत्रमा संरचना निर्माण गरिने प्रजिअ जोशीले बताउनुभयो । ‘मोटरपुल निर्माण भइरहेको क्षेत्रको सार्वजनिक जमिनमा संरचना बनाउन उपयुक्त ठानेका छौं, आवश्यक प्रक्रिया पूरा गरेर उक्त जमिनको भोगाधिकार दार्चुला भन्सार कार्यालयलाई दिएपछि निर्माण कार्य अगाडि बढ्छ’ प्रजिअ जोशीले भन्नुभयो ।सार्वजनिक जमिन भए पनि संरचना निर्माणका लागि भन्सार कार्यालयको स्वामित्व वा भोगाधिकार कायम गर्नुपर्ने कानुनी बाध्यता भएको मालपोत कार्यालय दार्चुलाका प्रमुख लक्ष्मीराज विष्टले बताउनुभयो । मोटरपुल निर्माण भइरहेको क्षेत्रको जमिनको पहिचान गरिएको उहाँले बताउनुभयो ।साविक धाप गाविसको वडा नम्बर ४ अन्तर्गत कित्ता नम्बर ७२२, ७२७ र ७२८ को जमिन सरकारी भवन निर्माणमा प्रयोग हुनेछ । तर तिनवटै कित्ताको जमिन ९० रोपनीभन्दा बढी भएकोले संरचना निर्माणका लागि आवश्यक जमिन कित्ताकाट गरेर भन्सार कार्यालयको भोगाधिकार कायम गर्नुपर्ने अवस्था रहेको छ । आधा दर्जन स्थानीय परिवारको चलनभोग समेत रहेकोले स्थानीयवासीसंग छलफल र सहमति गरेर सरकारी भवनको संरचना बनाउनुपर्ने असिगडाका स्थानीय श्याम सिंह धामीले बताउनुभयो ।सघन शहरी तथा भवन निर्माण आयोजना डोटीले जिल्लास्तरका सरोकारवाला निकायसंग छलफल गरेर भवन निर्माणको डिजाइन र लागत तयार गरिसकेको छ । ४५ करोड ६३ लाख रुपैयाँ लागतको भवन संरचना बनाउन डिजाइन गरिएको आयोजनाले जनाएको छ । तीन तले भवनको संरचना निर्माण गरेर एउटै परिसरभित्र भन्सार, सशस्त्र प्रहरीको विओपी, नेपाल प्रहरीको चौकी, क्वारेन्टाइन लगायतका कार्यालय राखिनेछन् ।जिल्ला प्रशासन कार्यालयले अध्यागमन कार्यालय सञ्चालनका लागि समेत संरचना निर्माण गर्न पत्राचार गरेको छ । सबै कार्यालय एउटै परिसरमा एकीकृत रुपमा सञ्चालन गर्नेगरी संरचना निर्माण गरिने दार्चुला भन्सार कार्यालयका प्रमुख शिवचन्द्र प्रसादले बताउनुभयो ।भन्सार विभागको टोलीले केही दिनभित्रै स्थलगत भ्रमण गरेपछि यसबारे ठोस टुंगो लाग्ने भन्सार कार्यालयका प्रमुख प्रसादको भनाई छ । ‘विभागस्तरको भ्रमणपछि संरचना निर्माण हुने ठाउँको चारकिल्ला निर्धारण हुनेछ र संरचना निर्माणको टुंगो लाग्नेछ’ उहाँले भन्नुभयो ।चालू वर्षमा ५० लाख रुपैयाँ मात्रै बजेट भएपछि बहुवर्षिय ठेक्का प्रक्रियामार्फत संरचना निर्माण गरिने आयोजनाका सव इन्जिनियर कृष्णवहादुर मालले बताउनुभयो । संरचना निर्माणको मास्टर प्लान तयार गरेर स्वीकृतिका लागि विभागमा पठाइएको उहाँले बताउनुभयो ।एकीकृत भवनको संरचनामा पार्किङस्थल, कर्मचारी आवाश र भण्डारगृह लगायतको संरचना पनि निर्माण गर्नुपर्ने दार्चुला भन्सार कार्यालयका प्रमुख शिवचन्द्र प्रसादले बताउनुभयो । ‘भन्सार विभागको टोलीले स्थलगत भ्रमण गरेपछि निर्माण गरिने संरचनाबारे अन्तिम टुंगो लाग्नेछ’ उहाँले भन्नुभयो ।एक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी २०७९ असोजमा मोटरपुल निर्माण सुरु गरिएको थियो । तर निर्धारित समयमा पुल निर्माण सम्पन्न नभएपछि ६ महिनाको म्याद थप गरिएको जानकारी भारतीय पक्षबाट प्राप्त भएको प्रजिअ किरन जोशीले बताउनुभयो । भारतीय सञ्चारमाध्यमका अनुसार आगामी मार्च अर्थात चैत्र महिनासम्म मोटरपुल निर्माण सम्पन्न हुनेछ । कालापानी समाचार बाट