बैतडी– बैतडीको दशरथचन्द नगरपालिकाले महिलाका लागि निशुल्क लोकसेवा तथा शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन गर्ने भएको छ । अप्राविधिक खरीदार, प्राथमिक तहको शिक्षक सेवा आयोगका लागि निशुल्क कक्षा सञ्चालनको तयारी भएको दशरथचन्द नगरपालिकाकामा कार्यरत खरीदार लक्ष्मी विष्टले जानकारी दिइन् ।महिलाहरुको सरकारी सेवामा पहुँच पुर्याउनका लागि खरीदार र शिक्षक पदका लागि कक्षा सञ्चालनको तयारी भएको नगरपालिकाले जनाएको छ ।
दशरथचन्द नगरपालिकाभित्रका इच्छुक महिलाहरुले यही माघ १२ गतेभित्र आवेदन दिन समेत आग्रह गरिएको छ । तयारी कक्षामा सहभागी हुन चाहनेहरुले एक प्रति पासपोर्ट साइजको फोटो र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ । नगरपालिकाले सञ्चालन गरेको कक्षामा निरन्तर सहभागी हुन सक्ने र १८ बर्ष पूरा भइ ४० बर्ष ननाघेका महिलाहरुले आवदेन दिन सक्ने नगरपालिकाले जनाएको छ ।
लोकसेवा आयोग, प्रदेश लोकसेवा आयोग र शिक्षक सेवा आयोगले निर्धारण गरेको पाठ्यक्रममा आधारित रहेर कक्षा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । तयारी कक्षा १६ गते देखि सञ्चालन हुने बताइएको छ ।