बैतडी–बैतडी जिल्लाको डिलाशैनी गाउँपालिकाले पालिकाको नयाँ प्रशासकीय भवन निर्माणका लागि लागतको ४० प्रतिशत बजेट विनियोजन गरेको छ । बुधबार सम्पन्न भएको गाउँसभाको १४ औं अधिवेशन भवन निर्माणमा लाग्ने ४० प्रतिशत बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए ।
गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि स्थानीय सरकारको प्रतिबद्धतापछि मात्रै संघीय सरकारले बजेट पठाउने भएकाले पालिकाले ४० प्रतिशत बजेट विनियोजन गर्ने प्रस्ताव पारित गरेको उनले बताए ।
डिलाशैनी गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि वडा नं ७ धामीगाउँमा स्थानीयहरुले २० रोपनी भन्दा बढी जमीन दान गरिसकेका छन् । उक्त जमीन गाउँपालिकाले आफ्नो नाममा नामसारी गरिसकेको छ ।
आगामी आर्थिक बर्षदेखि भवन निर्माणको काम शुरु हुने प्रवक्ता भट्टले बताए ।
यस्तै गाउँसभाले गाउँपालिकाको बेरुजु असुल र फच्र्यौट गर्ने कार्यका लागि सम्परीक्षण समिति बनाएको छ । वडा नं १ का वडा अध्यक्ष एवं आर्थिक समितिका संयोजक कृृष्णकुमार धामीको संयोजकत्वमा ५ सदस्यीय सम्परीक्षण समिति बनाइएको प्रवक्ता भट्टले बताए । उक्त समितिका गाउँपालिकाका आन्तरिक लेखापरीक्षक जय महरा सदस्य सचिव रहेका छन् ।
गाउँसभाले यसअघि कार्यपालिकाले गरेका विभिन्न निर्णयहरु समेत पारित गरेको प्रवक्ता भट्टले बताए । सभामा गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले एजेण्डाहरु प्रस्तुत गरेका थिए ।