दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर २ का आधा दर्जन युवा रुस युक्रेनको युद्धमा पुगेका छन् । वडा नम्बर २ डोबालीगाउँका दिपकसिह डोबाल, महेन्द्रसिह डोबाल, विशालसिह डोबाल, ललितसिह डोबाल र नबिन्द्रसिह डोबाल युद्धग्रस्त देश रुस पुगेका हुन् । आठ वर्ष सशस्त्र प्रहरीमा जागरि खाएका दिपक सिह डोबाल गत कार्तिक २५ गते भारत हुँदै रुस पुगेका हुन् ।
जागरिबाट राजिनामा दिएपछि वैदेशिक रोजगारीको खोजिमा रहेका दिपकलाई कन्ट्याक्टरले रुस पुर्याएको उनको पारिवारिक स्रोतले बताएको छ । युद्धग्रस्त क्षेत्रमा पटक पटक गएका दिपकले दुई दिन अगाडि मात्रै श्रीमती अमिला संग कुराकानी भएको डोबालले बताईन् ।‘तालिममा रहेकाले दिनदिनै कुरा हुँदैन कहिले काहीँ ह्वाट्स्पमा कुरा हुन्छ ।
नेपाल फर्किन चाहानुहुन्छ तर फर्किन सक्नु भएको छैन ।’ उनले भनिन् । सोही वडाका कुन्दनसिह नगालको केही दिन अगाडि रुसको तर्फबाट लड्दै गर्दा मृत्यू भएपछि घरपरिवार शोकमा डुबेको छ । ‘त्यहाँ नजानुस् भनेका हौँ मान्नु भएन, अहिले पनि खासै असुरक्षित छैनौँ चिन्ता नलिनुस् मात्रै भन्छन् तर मन मान्दैन ।’ दिपककी श्रीमती अमिलाले भन्नु भयो । नेपाली सेनामा १७ वर्ष जागरि खाएर राजिनामा आएका सोही गाउँका महेन्द्रसिह डोबाल पनि युक्रेन रुस सीमा क्षेत्रमा खटिएका छन् । घरपरिवारको सम्पर्कमा रहेका महेन्द्रले साथीहरुलाई आफूहरु जुनसुकै बेला असुरक्षित स्थानमा पुग्न सक्ने बताउने गरेका छन् ।
शुक्रबार मात्रै श्रीमती धाना डोबालसँग कुरा गरेका महेन्द्रले कन्ट्याक्टरमार्फत आफू नेपाल फर्किने बताएका छन् । कन्ट्याक्टरकै माध्यमबाट दुबैबाट रुस पुगेका उनी कन्ट्याक्टरमार्फत नै नेपाल फर्किन खोजिरहेको तर सफल नभएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । रुसको युद्धग्रस्त क्षेत्रमा पुगेका दिपक र महन्द्रबाहेक चारै जना युवाहरु सिभिल हुन् ।
उनीहरुले नेपालमा कुनै किसिमको सैन्य वा सुरक्षासम्बन्धी तालिम लिएका छैनन् । दशैँ सकाएर विदेश जान दार्चुलाबाट काठमाण्डौँ हिडेका विशाल, ललित, नबिन्द्र र राकेश रुस पुगेपछि मात्रै घरपरिवारले उनीहरु रुस पुगेको खबर पाएको जनाएको छ । उनीहरुमध्ये ललितसिह डोबाल नयाँ नेपाल एफएमका सहकर्मीको सम्पर्कमा आए र घरपरिवारसँग पनि सम्पर्क हुने गरेको बताए ।
एकले ज्यान गुमाए अर्का फर्किए
महाकाली नगरपालिका वडा नम्बर २ कै एक युवाले रुसी युद्धमा ज्यान गुमाएका छन् भने अर्का युवा नेपाल फर्किएका छन् । कुन्दनसिह नगालले केही दिन अगाडि ज्यान गुमाएका थिए भने बिक्रमसिह फराल रुसमा बिस दिन बसेर नेपाल फर्किएका छन् । आफू रुसी सेनामा नभई कम्पनिमा काम गर्न रुस गरेको बताउने बिक्रमले रुसको कम्पनिमा काम नपाएपछि आफू नेपाल फर्किएको बताए । रुसी सेनामा कार्यरत ललितसिह डोबाल आफ्नो नियमित सम्पर्कमा रहेको बिक्रम बताउँछन् । रुसी सेनामा कार्यरत ललितले आफू सुरक्षित रहेको जानकारी दिएपनि कुन क्षेत्रमा कार्यरत छन् भन्ने बारे भने कुनै जानकारी दिएका छैनन् ।
परराष्ट्र मन्त्रालयले फर्किन सहयोग गर्ने
रुसी सेना वा वाग्नर सेना नेपालीहरु जहाँ भएपनि सम्पर्कमा आए नेपाल फर्काउन सहयोग गर्ने परराष्ट्र मन्त्रीको स्वकीय सचिवालयले जानकारी दिएको छ । रुसमा रहेका नेपालीहरुले आफ्नो नाम ठेगाना उपलब्ध गराए सहयोग गर्न तयार रहेको सचिवालय स्रोतले जानकारी दिएको छ । काठमाण्डौंमा रहेका आफन्तहरुले परराष्ट्र मन्त्रालय मै आएर भएपनि नाम ठेगाना उपब्ध गराए मन्त्रालयले सहयोग गर्ने सचिवालयको भनाई छ ।
रुसी सेना सुरक्षित वाग्नर असुरक्षित
युद्धग्रस्त क्षेत्रमा पुगेका नेपालीहरुमध्ये रुसी सेनामा कार्यरतहरु ग्रिनजोन (सुरक्षित क्षेत्र) मा काम गर्ने र वाग्नर सेनामा कार्यरत नेपालीहरुले रेडजोन (असुरक्षित क्षेत्र)मा समेत काम गर्नु पर्ने त्यस क्षेत्रमा रहेका नेपालीहरु बताउँछन् । रुसी सेनामा कार्यरत नेपालीभन्दा पनि वाग्नर सेनामा कार्यरत नेपालीहरुले नेपाल फर्किन चाहेको रुसी सेनामा कार्यरत ललितसिह डोबालको भनाई छ । रेड जोनबाट फर्किएपछि बोनस रकम पाइने भएकाले युद्धमा ज्यान बचाएर आएका नेपालीहरु पनि नेपाल फर्किन नमान्ने उनी बताउँछन् ।