लेकम गाउँपालिकामा उपभोक्ता समिति पदाधिकारीहरुलाई अभिमुखिकरण तालिम प्रदान

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले चालु आर्थिक वर्षमा कार्यान्वयन हुने योजनाका उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण तालिम दिइरहेको छ । प्रतेक वडामा सञ्चालन हुने योजनाका उपभोक्ता समिति पदाधिकारीहरुलाई अभिमुखिकरण तालिम दिने काम जारी रहेको लेकम गाउँपालिकाका सूचना अधिकारी शेखरचन्द्र ओझाले जानकारी दिनुभयो ।

उहाँका अनुसार लेकम गाउँपालिकाको केन्द्र रातामाटामा गत मंसिर २९ गतेबाट सुरु भएको अभिमुखिकरण तालिम निरन्तर सञ्चालनमा छ । २९ गते वडा नम्बर ६ का उपभोक्ता समिति पदाधिकारीलाई तालिम दिइएकोमा हिजो मंसिर ३० गते वडा नम्बर १ का उपभोक्ता समिति पदाधिकारीलाई तालिम दिइएको हो । यस्तै आइतबार ९आज० वडा नम्बर ४ र ५ का उपभोक्ता समितिलाई अभिमुखिकरण गरिएको उहाँले बताउनुभयो ।

भोलि वडा नम्बर ३ का उपभोक्ता समिति पदाधिकारीलाई अभिमुखिकरण दिने तयारी रहेको लेकम गाउँपालिकाले जनाएको छ । उपभोक्ता समिति गठन भइसकेका योजनाका पदाधिकारीहरुलाई प्रशिक्षण तालिम प्रदान भइरहेको हो । लेकम गाउँपालिकामा चालु आर्थिक वर्षमा १२५ बढी योजना रहेको बताइएको छ । उपभोक्ता समितिले गर्ने काम तथा योजना चैत मसान्तभित्रै सम्पन्न गर्ने गरी तयारी गरिएको सूचना अधिकारी ओझाले बताउनुभयो ।

उपभोक्ता समितिले गर्ने काम चुस्त दुरुस्त होस, प्राविधिक, आर्थिक र कागजातहरुसमम्बधी उपभोक्ता समितिलाई राम्रोसंग जानकारी होस भन्ने उद्धेश्यले अभिमुखीकरण तालिमको आयोजना भइरहेको बताइएको छ । तालिममा उपभोक्ता समितिका पदाधिकारीहरुसंगै सम्बन्धित जनप्रतिनिधि र कर्मचारीहरुको समेत सहभागिता रहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार