जनताको सबैभन्दा नजिकको सरकारको हो स्थानीय सरकार । स्थानीय सरकारले जनतासँग जोडिएन सरकार भएको नागरिकले अनुभूति गर्न सक्दैनन् । मालिकार्जुन गाउँपालिकाले स्थानीय सरकारको अनुभूति गराउन घरदैलोमा पुग्ने अभियान थालेको छ ।
‘लिएर सेवाका सबै प्रकार, जनताको घरघरमा स्थानीय सरकार’ भन्ने मूल नाराका साथ गाउँपालिकाले एकीकृत घुम्ती शिविरमार्फत जनताको घरदैलोमा पुग्न थालेको हो । पालिकाबाट प्रवाह हुने सेवालाई घुम्तीशिविरको मार्फत नागरिकको घरदैलोमा पुग्ने अभियान थालिएको गाउँपालिका अध्यक्ष हिरासिह धामीले जानकारी दिए । उनले भने, ‘जनतालाई सकेसम्म पालिकासम्म पुग्नुनपरोस भनेर वडातहबाटै घुम्ती सेवामार्फत सेवा प्रवाह गरेका छौ ।’
सबै नागरिकको पहुँच पालिकासम्म पुग्न सक्दैन् । पालिकासम्म पुग्न आर्थिक भार पनि उतिकै हुन्छ । त्यही भएर आधारभूत सेवा घुम्ती शिविरमार्फत गाउँमा ल्याएका छौं उनले भने । यो अभियान पालिकाभरी हुन्छ । यसअघि पनि पटकपटक हामीले विभिन्न शिविर सञ्चालन गरेर नागरिकलाई घरदैलोको सरकारको अनुभूति दिलाउने प्रयास गरेका छौं उनको भनाई छ ।
भौगोलिक विकटताका कारणपालिका केन्द्रमा आएर सेवा लिन नसक्ने नागरिकलाई घुम्ती शिविरमार्फत सेवा दिन लागिएको उनले बताए । आइतबार वडा नम्बर १ भर्तोलाबाट सेवाको थालनी गरिएको छ ।
पहिलो दिन वडा नम्बर १ मा २५५ जनाले सेवा लिएका छन् । घुम्ती शिविर अन्तर्गत २९ जनालाई आँखा उपचार सेवा, ६ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण, ५० जनालाई पशुसेवा, ५० जनालाई औषधि वितरण, ३६ जनालाई आयुर्वेद सेवा, २ वटा विद्यालय अनुगमन र ३२ वटा उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण प्रशिक्षण गरिएको मालिकार्जुन गाउँपालिकाका एमआइएस अपरेटर लोकेन्द्रसिंह धामीले जानकारी दिए ।
शिविरमा एमबीबीएस डाक्टरद्धारा दीर्घरोगी, बृद्धबृद्धाको स्वास्थ्य परिक्षण, औषधि वितरण, पशुजन्य रोग र उत्पादनसम्बन्धी परामर्श तथा उपचार सेवा भइरहेको छ ।