मालिकार्जुन गाउँपालिकाले आइतबारदेखि वडामै गएर सामाजिक सुरक्षा भत्ता वितरणको तयारी थालेको छ । नागरिकले पालिकास्थित माछापुच्छे« बैंकसम्म पुगेर भत्ता लिन समस्या भएको गुनासोपछि पालिकाले वडामै सामाजिक सुरक्षा भत्ता वितरणको तयारी थालेको हो ।
गाउँपालिकाले वडा बैंकसँगै लिएर वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी भएको मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामीले जानकारी दिए । नागरिकलाई पालिकासम्म पुग्नुपर्ने बाध्यता हटाउन वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको हो ।
यसअघि पालिका केन्द्रमा रहेको माछापुच्छे« बैंकमार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता चालू आर्थिक वर्षबाट वडाबाट वितरण गरिन लागेको उनले बताए । गाउँपालिकाले मङ्सिर १७ गते वडा नम्बर १, मङ्सिर १८ गते वडा नम्बर २, मङ्सिर १९ गते वडा नम्बर ३, मङ्सिर २० गते वडा नम्बर ५, मङ्सिर २१ गते वडा नम्बर ४, मङ्सिर २४ गते वडा नम्बर ६ मा सामाजिक सुरक्षा भत्ता वितरण गरिने जनाएको छ ।