दार्चुलामा एचआईभी संक्रमणका कारण हाल सम्म ७ जनाको ज्यान गएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका एचआईभी संक्रमितहरुले ज्यान गुमाएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला अस्पताल दार्चुलाका एआरटि काउन्सलर लोकेन्द्र सिह धामीले दिएको जानकारी अनुसार नियमित उपचारमा रहेका र औषधि सेवन गरिरहेका ५ जना पुरुष र २ जना बच्चाको एचआईभीकै कारण ज्यान गएको बताएका छन ।
मृत्यु हुनेमा महाकाली नगरपालिकाका २ जना, मालिकार्जुन गाउँपालिका ,लेकम गाउँपालिका तथा मार्मा गाउँपालिकाका समान १÷१ जना गरी ५ जना पुरुषको एचआईभी संक्रमणका कारण मृत्यु भएको एआरटि काउन्सलर लोकेन्द्र सिह धामीले जानकारी दिनु भयो । यस्तै शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाका समान १÷१ जना बच्चा गरी जम्मा ७ जनाको एड्सका कारण मृत्यु भएको बताइएको छ । दार्चुलामा चालु आर्थिक वर्षको हाल सम्म थप एक जनामा एड्स देखिएको छ । स्वाथ्यकर्मीले संक्रमितले प्रत्येक दिन एउटै समयमा एआरटी केन्द्रबाट अनिवार्य औषधि सेवन गर्नुपर्ने सुझाब दिएका छन् ।
कतीपयले एकाबिहानै खालि पेटमा औषधि सेवन गर्नुपर्दा कमजोर हुने गरेको संक्रमितहरू बताउने गरेका छन् । दार्चुलामा संक्रमितको संख्या नघट्नु चुनौतिपूर्ण भएको स्वास्थ्य कार्यालय दार्चुलाका बरिष्ठ जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताएका छन । रोजगारीका लागि भारत जानैपर्ने बाध्यताका कारण एचआईभी संक्रमण फैलने क्रममा सुधार हुन नसकेको उनको भनाइ छ । हाल जिल्लाका २ जना पुरुष र २ जना महिला गरी ४ जनाले अन्य ठाउँका अस्पतालबाट औषधी सेवन गर्ने गरेको बताइएको छ ।
जसमध्ये शैल्यशिखर नगरपालिकाका १ जना महिला १ जना तथा दुहुँ गाउँपालिकाका १ जना महिला र १ जना पुरुष गरी २ जना सहित ४जनाले जिल्लाबाहिरका स्वास्थ्यसंस्थाबाट सेवा लिइरहेको जिल्ला अस्पताल दार्चुलाका सुचना अधिकारी डम्मर दत्त भट्टे जानकारी दिनु भएको छ ।