नेपाली क्रिकेटरलाई मुम्बईमा प्रशिक्षण दिन सकिन्छ महाराष्ट्रका उपमुख्यमन्त्री

मुम्बई – भारतको महाराष्ट्र प्रदेशका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले नेपाली क्रिकेटको विकासमा आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

स्वतन्त्र युवा प्रजातान्त्रिक सङ्घ नेपालको संयोजनमा भारत भ्रमणमा रहेका नेपाली पत्रकारको प्रतिनिधि मण्डलसँगको भेटमा उपमुख्यमन्त्री फडणवीसले नेपाली क्रिकेटरलाई मुम्बईमा प्रशिक्षण, व्यावसायिक क्रिकेटमा अवसर दिन सकिने बताउनुभयो । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले उपयुक्त प्रस्ताव ल्याएमा क्रिकेटमा दुई पक्षीय प्रतिस्पर्धा गर्न सकिने उपमुख्यमन्त्री फडणवीसको भनाइ छ ।

छलफलमा नेपाली पत्रकारले नेपाल–भारत सम्बन्ध, मुम्बईमा रहेका श्रमिक नेपालीको अवस्थालगायत विषयमा चासो राखेका थिए । नेपाली पत्रकारले उठाएको विषयलाई उहाँले सकारात्मक रूपमा लिएको बताउनुभयो ।

महाराष्ट्र धार्मिक केन्द्र पनि रहेको भन्दै उपमुख्यमन्त्री फडणवीसले जनकपुरधामको जानकी मन्दिर र काठमाण्डौको पशुपतिनाथ मन्दिरलाई आफूले जोड्ने प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सङ्घको अगुवाईमा मुम्बई पुगेको नेपाली पत्रकारसँगको भेटघाटमा बिजेपीका पूर्वप्रदेश अध्यक्ष पनि रहिसकेका फडणवीसले १२ ज्योतिर्लिङ्गमध्ये चार महाराष्ट्रमै रहेकाले महाराष्ट्र धार्मिक केन्द्र भएको बताउनुभयो । भारतको पहिलो मित्र देश नेपालको पशुपतिनाथ र जनकपुरधामको सिधा सम्बन्ध विस्तारका लागि आफू छिट्टै नेपाल पुगेर पहल गर्ने उहाँको भनाइ छ ।

भारतको आर्थिक राजधानी मुम्बईका अगुवाका नाताले नेपालको आर्थिक उन्नतिका लागि चलचित्र, गीत सङ्गीत, खेल र युवा सदुपयोगको विषयमा साझेदारी गरी नेपालको उन्नतिमा भूमिका खेलेर आर्थिक साझेदार बन्न आग्रह गर्नुभएको थियो । नेपालका १६ जना पत्रकारको टोली भारत भ्रमणमा रहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार