काठमाडौं । गत २७ अक्टोबरमा रिलिज भएको भारतीय फिल्म ‘टुवेल्फ्थ फेल’ले दर्शक र समीक्षकबाट प्रशंसा पाइरहेको छ । यसैबीच यो फिल्मलाई सन् २०२४ को ओस्कार अवार्डमा पठाइएको खबर छ । यसको पुष्टि फिल्मका मुख्य कलाकार विक्रान्त मेसीले गरेका छन् ।
आजतकको साथिया कार्यक्रममा उपस्थित अभिनेता विक्रान्त मेसीले यो फिल्मलाई स्वतन्त्र रुपमा ओस्कारमा पठाइएको बताए । अक्षय कुमारको फिल्म ‘मिशन रानीगञ्ज’ले पनि सन् २०२४ को ओस्कारमा स्वतन्त्र प्रवेश पाएको छ । आधिकारिक रुपमा भने मलयालम फिल्म ‘२०१८’ लाई भारतबाट ओस्कारमा पठाइएको छ ।
हरेक देशले दुई किसिमले उत्कृष्ट फिचर फिल्म विधामा ओस्कारका लागि फिल्म पठाउँछन् । एउटा हो, फिल्मको आधिकारिक प्रवेश जसका लागि केही मापदण्ड तय गरिएको छ । तर केही सर्त पूरा गर्दै स्वतन्त्र रुपमा पनि फिल्म पठाउन सकिने सुविधा छ । गत वर्ष स्वतन्त्र रुपमा पठाइएको ‘आरआरआर’ले सर्वश्रेष्ठ संगीत विधामा ओस्कार जितेको थियो ।
२० करोड भारु बजेटमा बनेको फिल्म ‘टुवेल्थ फेल’ले एक महिनामा बजेटभन्दा दोब्बर अर्थात् ५५।८१ करोड भारु कमाएको छ । फिल्मलाई विधु विनोद चोपडाले निर्देशन गरेका हुन् । फिल्ममा विक्रान्त मेसीसँगै मेधा शंकर, सञ्जय बिश्नोई महत्वपूर्ण भूमिकामा छन् ।