शान्तिपूर्ण प्रदर्शन गर्न मानव अधिकार आयोगको आग्रह

काठमाण्डौ – राष्ट्रिय मानव अधिकार आयोगले संविधान, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय कानुनमा उल्लेखित प्रावधानको पालनामा संवेदनशील हुन सम्बद्ध पक्षलाई गरेको आग्रह गरेको छ ।

आयोगले आउँदा दिनमा आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारको सम्मान गर्न, प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन आग्रह गरेको हो ।

नेकपा एमाले को भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट आज बिहीवार काठमाण्डौमा आयोजित प्रदर्शनको दिनभर अनुगमन गरेपछि आयोगले विज्ञप्ति निकालेर यस्तो आग्रह गरेको हो ।

अनुगमनका क्रममा तीनकुनेमा आयोजित युवा सङ्घ नेपालको प्रदर्शन शान्तिपूर्णरूपमा सम्पन्न भएको पाइएको तथा बल्खुमा भएको प्रदर्शनमा युवा सङ्घ र अभियान समूहबीच झडप भएको जनाइएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको र त्यस क्रममा केही व्यक्ति घाइते भएका तथा मोटरसाइकल, स्कुटरमा सामान्य क्षति पुगेको जनाइएको छ ।

प्रदर्शनका कारण प्रदर्शनस्थल वरपरका विद्यालयमा पठनपाठन अवरुद्ध भएको, त्यस क्षेत्रका पसल बन्द हुँदा निर्बाधरूपमा पेसा व्यवसाय गर्ने अधिकारमा असर परेको र सर्वसाधारणले स्वतन्त्र एवम् सुरक्षितरूपमा आउजाउ गर्न नपाएको हुँदा त्यसबाट नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र बालबालिकाको शिक्षाको अधिकारमा असर परेको आयोगले बताएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार