दार्चुला । दार्चुला–तिंकर सडकको निर्माण कार्यमा तिव्रता आउन नसकेको यथास्थितिमा दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूले दुम्लिङ–तिंकर जोड्ने घोरेटो बाटो निर्माणमा चासो देखाउनुभएको छ । सांसद बडूले आइतबार सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार सचिव प्रेमराज भट्ट र सहरी विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास कार्यक्रमका सुदूरपश्चिम प्रदेश प्रमुख जयराम श्रेष्ठसँग भेट गरी हालसम्मको कार्य प्रगती र आगामी कार्य योजना बारे छलफल गर्नुभएको हो । बाटो निर्माण कार्यमा अपेक्षित प्रगति हुन नसकिरहेकोतर्फ ध्यानाकर्षण गराउँदै सांसद बडूले निर्देशन समेत दिनुभएको उनको सचिवालयले जनाएको छ ।
भेटमा यथाशीघ्र संघीय एवम् प्रदेश तहका संबद्ध प्राविधिक एवं पदाधिकारीहरु स्थलगत रुपमा नै उपस्थित भई व्याँस गाउँपालिका वडा नम्बर १ छाङ्गरू र तिंकरका स्थानीय जनता र जनप्रतिनिधि लगायत सरोकावालाहरू सँग अन्तरक्रिया र छलफल गरी सुझाव लिन निर्देशन दिए । यस्तै स्वयम् स्थलगत अवलोकन र अनुगमन गरी त्यहाँको वस्तुस्थितिको अध्ययन गर्ने, तीन तहकै सरकार बीच एकीकृत एवं समन्वयात्मक बजेट व्यवस्थापन तथा कार्ययोजनासहित छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गर्ने कुरा छलफलमा भएको जनाइएको छ ।
यसमा मन्त्रालयका सचिव तथा प्रमुखले स्थानीय स्तरमा छलफल, अवलोकन तथा अनुगमनका साथै यस सँग सम्बन्धित समग्र प्रक्रियामा आफ्नो सकृय सहभागिता रहने प्रतिवद्धता व्यक्त गर्नुभएको बताइएको छ । उक्त भेट कार्यक्रममा नेपाली काँग्रेस दार्चुलाका सचिव पुलेन्द्र बहादुर कार्की र व्याँस गाउँपालिकाका पूर्व अध्यक्ष दिलिप सिंह बुढाथोकीकोसमेत उपस्थिति रहेको थियो ।