बन्यो नेपालगन्ज–दिल्ली उडान रुट

नेपालगन्ज विमानस्थलमा सोमवार भारतीय वायुसेनाको सी–१३० विमान अवतरण ग¥यो । भूकम्प प्रभावित मध्यपहाडी जिल्लाका बासिन्दाहरुका लागि भारत सरकारले पठाएको आपतकालीन राहत लिएर अघिल्लो दिन आइतवार पनि भारतीय सेनाको यस्तै प्रकृतिको विमान नेपालगन्ज विमानस्थलमा अवतरण गरि फर्किएको थियो ।

‘हामी सवा घण्टामा दिल्ली पुग्छौं,’ ४ सदस्यीय चालक दलका कमाण्डर, भारतीय वायुसेना सी–१३० का क्याप्टेन रविशसँग दैनिक नेपालगन्जले सोधेको एउटा प्रश्नमा उनले भने, ‘नेपालगन्ज विमानस्थलको प्राविधिक पक्षबारे बोल्न म आधिकारिक विज्ञ होइन ।’ तर, उनले त्यति भनिरहँदा दुई दिनसम्म निर्वाध भारतीय वायुसेनाको सी–१३० विमानले निर्वाध उडान भरिरहँदा विमानस्थलमा समस्या छैन भन्ने कुराको आफै पुष्ट्याई दिएको संकेत दिए ।

सोमवार आएको भारतीय सेनाको विमान भारत केन्द्र सरकारको निर्देशनमा राजधानी दिल्ली देखि विहार राज्यको राजधानी पटना हुँदै नेपालगन्ज आएर साँझनै दिल्ली फर्किएको हो । आइतवार बनारसबाट आएको भारतीय वायुसेनाको सी–१३० विमान पनि त्यसैगरि फर्किएको थियो ।

‘भारतसँगको हाम्रो सम्बन्ध र आवश्यकताका आधारमा अब नेपालगन्जबाट भारतको राजधानीसहित विभिन्न सहरहरुमा उडान भर्न प्राविधिक रुपमा कुनै समस्या छैन भन्ने कुरामा तपाई प्रष्ट हुनु भयो होला,’ सोमवार भारतीय दूतावासका विशेष प्रतिनिधि, प्रशान्त श्रीवास्तवसँग नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले भने, ‘रुटका लागि तपाईहरुको प्राथमिकता नेपालगन्ज रहोस् ।’

नगर प्रमुख विष्टले दशौं करोड लगानीका पूर्वाधार बनिरहेको जानकारी दिंदै नेपालगन्जबाट दिल्ली, लखनउ, पटना, बनारस लगायतका ठाउँमा उडानका लागि रुट दिइनुपर्ने ध्यानाकर्षण गराए ।

भारतीय दूतावासका विशेष प्रतिनिधि, प्रशान्त श्रीवास्तवसँग नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट ९बायाँ० नेपालगन्ज– दिल्ली उडानबारे ध्यानाकर्षण गराउँदै । ९तस्विरः दैनिक नेपालगन्ज०

राहत हस्तान्तरणका लागि नेपालगन्ज आएका दूतावासका वरिष्ठ अधिकारी श्रीवास्तवले बन्दै गरेका पूर्वाधारहरुबारे चासो राख्दै भने, ‘तपाईहरुले स्थानीय स्तरबाट पनि पहल थाल्नुस्, हाम्रो तर्फबाट यथासम्भव सहजीकरण हुनेछ ।’ उनले नगर प्रमुख विष्ट र बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई सोमवार दोस्रो चरणको राहत हस्तान्तरण पनि गरे ।

दुई दिनसम्म भारतीय वायुसेनाको सी–१३० विमानले उडान भरेको कुरालाई लिएर नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल बैश्यले नेपालगन्ज– दिल्ली उडानको बाटो खुलेको औल्याए ।

‘अब कुनैपनि बहानामा रुट नदिइनु हुँदैन,’ बैश्यले दैनिक नेपालगन्जसँग भने, ‘सरकारले यसका लागि तत्काल पहल थाल्नुपर्छ ।’ उनको भनाइ थियो, ‘भारतीय सेनाले आधिकारिक उडान भरिसकेको विमानस्थल र रुटलाई जनताले प्रयोग गर्न नपाउने भन्ने कसरी न्यायसंगत हुन्छ रु

बुद्ध एअरका नेपालगन्ज स्टेशन प्रमुख विनित शाहले भारत सरकारले रुट इजाजत दिनासाथ नेपाली कम्पनिहरु दिल्ली लगायतका विभिन्न भारतीय सहरमा नेपालगन्जबाट उडान भर्न तम्तयार रहेको बताउँछन् ।

‘कुरा रन वे वा अन्य प्राविधक पक्षको हुँदै होइन, सबै ठिक छन्,’ बुद्ध एअरले गरेका विभिन्न प्रयास र पहल सम्झँदै शाहले दैनिक नेपालगन्जसँग भने, ‘सोझो रुट प्राप्त हुनासाथ उडान शुरु हुन्छ ।’ उनले काठमाडौं – दिल्ली भन्दा नेपालगन्ज– दिल्ली उडान एक घण्टा छोटो, छिटो र सस्तो हुने भएकाले पनि सरकारले पहल लिनुपर्ने औल्याए ।

जाजरकोट र रुकुमपश्चिम भूकम्पबाट प्रभावित भएपछि पहाडी जिल्लामा राँझा विमानस्थलबाट आपतकालीन उडान भइरहेका छन् । विमानस्थलबाट शनिबारदेखि नेपाल एयरलाइन्सको जहाज र नेपाली सेनाको हेलिकप्टरले आपतकालीन उडान भरिरहेका छन् ।

सेनाको हेलिकप्टरले जाजरकोट र रुकुमपश्चिमबाट भूकम्पका घाइतेलाई उपचारका लागि नेपालगन्ज ल्याउने र नेपालगन्जबाट राहत सामग्री बोकेर प्रभावित क्षेत्रतर्फ लैजाने गरिरहेका नेपालगन्ज विमानस्थल कार्यालयले जनाएको छ ।
सोही क्रममा विमानस्थलमा भारतीय वायुसेनाको विमान आइतबार र सोमवार अवतरण गरेको हो ।

नेपालका लागि भारतीय दूतावासका वरिष्ठ अधिकारी प्रशान्त श्रीवास्तव सोमवार साँझ नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्ट र बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई दोस्रो लटको राहत सामाग्री हस्तान्तरण गर्दै ।
भारत सरकारले त्रिपाल, कम्बल र सुत्ने डस्ना, झोला तथा आवश्यक औषधि, पोर्टेबल, भेन्टिलेटरलगायत सामाग्री पठाएको छ । बाँकेका प्रजिअ पोखरेलले पहिलो दिनको भारतीय सहयोग सोमवारनै जाजरकोट र रुकुम पठाइएको जानकारी दिए ।
कतिपय आपतकालीन सामग्रीलाई सेनाको हेलिकप्टरमार्फत भूकम्प प्रभावित जिल्लाका बस्तीसम्म पु¥याइएका छन् ।

घाइतेको उपचार र राहत सामग्री ढुवानीका लागि केही दिनसम्म आपतकालीन उडान भर्नुपर्ने भएकाले विमानस्थलमा उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ । घाइतेको उद्धार र राहत सामग्री बोक्न दैनिक हेलिकप्टर र जहाजले उडान भरिरहेका छन् ।

सोमवार अपरान्ह भारत सरकारले जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावितलाई पठाएको सामाग्री नेपालगन्ज आइपुगेको छ । यो दोस्रो लटको सामान हो । आइतबार एक लट सामान आएको थियो । भारतको पटनाबाट आएको भारतीय वायुसेनाको विमानमा सामान नेपालगन्ज ल्याइएको छ । ‘दिल्लीबाट केही र पटनाबाट केही सामान लिएर आएका हौं,’ चालक दलका कमाण्डर रविशले दैनिक नेपालगन्जसँग भने ।

भारत सरकारबाट प्राप्त पहिलो दिनको राहत सामग्री नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगन्ज विमानस्थलमा आएर नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका थिए ।

जिल्ला पठाइएका राहत सामग्रीमा प्लास्टिक तार्पोलिन र त्रिपाल छ सय २५ थान, स्लिपिङ ब्याग एक हजार थान, ब्ल्याङ्केट एक हजार थान, त्यसैगरी ठूलो खालको टेन्ट ७० थान, टेन्टको एसेसरिज ३५ प्याकेट, औषधि तथा अन्य प्रकारका सामग्री ४८ वटा लगायत छन् ।

सम्बन्धित समाचार

ताजा समाचार