विगतमा स्थल मार्गबाट सवारीसाधनमा काठमाडौंदेखि पर्यटकीय सहर पोखरा ६ घण्टामा पुगिन्थ्यो। धेरैजसो यात्रुले काठमाडौंबाट पोखरा जान हवाईभन्दा स्थलमार्ग रोज्थे। तर अहिले परिस्थिति फेरिएको छ। काठमाडौं–पोखरा सडक मार्गको अवस्था बेहाल भएसँगै यात्रा सकसपूर्ण बनेको छ। विस्तार तथा स्तरोन्नतिको काम बेलैमा नसकिँदा यो सडक भताभुंग बनेको छ। अहिले स्थल मार्गबाट काठमाडौं–पोखरा पुग्न १२ घण्टाभन्दा धेरै समय छुट्याउनुपर्ने बाध्यता छ।
यात्रा गर्दा धुवाँ, धुलो र हिलोको सामना गर्नुपर्ने बाध्यता छ। कतै पनि सग्लो र कालोपत्रे सडक भेट्टाउन मुस्किल पर्छ। संघीय सरकारले काठमाडौं नागढुंगादेखि मुग्लिनसम्म विश्व बैंकको ऋणमा सडक स्तरोन्नतिको काम अघि बढाइरहेको छ। अर्को दातृ निकाय एसियाली विकास बैंक ९एडिबी० कोे ऋणमा मुग्लिन–पोखरा सडक स्तरोन्नति भइरहेको छ। जसका कारण काठमाडौंदेखि पोखरासम्मको करिब दुई सय किलोमिटर सवारीसाधनबाट पार गर्न १२ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ।
ठेकेदार कम्पनीहरूको ढिलासुस्ती र आलटालकै कारण काठमाडौं–पोखरा खण्डमा यात्रा गर्ने सर्वसाधारण, सवारीचालकलगायतले खालका सास्ती बेहोर्नुपरेको हो। पोखराका पर्यटन व्यवसायी गणेशबहादुर थापाले सडकको दुरवस्थाका कारण पोखराको पर्यटन उद्योगमा ठूलो धक्का लागेको बताउँछन्। ‘काठमाडौं–पोखरा सडकको दुरवस्थाले पोखराको पर्यटन व्यवसायमा धक्का पुगेको छ,’ उनले भने, ‘सरकारले यो सडक स्तरोन्नतिको काम छिटो सकाउन पहल गर्नुपर्छ। अहिले यो सडक राज्यले बिछ्याएको वैधानिक धराप जस्तै भएको छ। यसबाट पर्यटन क्षेत्रले ठूलो मूल्य चुकाउनु परिरहेको छ।’ अस्तव्यस्त र असरल्ल सडकका कारण ६ घण्टाको यात्रा पूरा गर्न १२ घण्टाभन्दा बढी समय लाग्ने गरेको उनले बताए।
सरकारले एडिबीसँग ऋण लिएर सन् २०२१ देखि मुग्लिन–पोखरा ८०।३३ किलोमिटर सडक खण्ड स्तरोन्नतिको काम गरिरहेको छ। तर ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण अपेक्षित प्रगति हुन सकेको छैन। काठमाडौं–पोखरा सार्वजनिक बसका चालक बन्दु शर्मा भन्छन्, ‘नागढुंगादेखि पोखरासम्मको सडक सग्लो भेटाउन मुस्किल पर्छ । सडक खल्डाखुल्डीका कारण एम्बुस जस्तै बनेको छ । यात्रुलाई समयमै गन्तव्यमा पुर्याउन सकिँदैन।’
मुग्लिन–पोखरा सडकलाई दुई खण्डमा बाँडेर स्तरोन्नति गरिँदैछ । पूर्वी खण्ड आँबुखैरेनीदेखि तनहुँ जामुनेसम्म ४१।४५ किलोमिटर छ । यो खण्डको स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले पाएको छ । पूर्वी खण्ड स्तरोन्नतिको काम २५ अप्रिल २०२१ मा सुरु भएको थियो । यो खण्ड सन् २०२४ को अप्रिल १४ सम्म सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर प्रगति भने उत्साहजनक देखिन्न ।
पूर्वी खण्डका योजना प्रमुख श्यामकुमार यादवले भौतिक प्रगति ३८ प्रतिशत मात्र भएको बताए । ‘पूर्वी खण्डमा लगभग साइट क्लियर भइसकेको छ,’ उनले भने, ‘ठेकेदार कम्पनीले काम गर्ने इच्छाशक्ति देखाउने हो भने चालु आवको अन्त्यसम्म २५ किलोमिटरसम्म सडक कालोपत्रे गर्न सकिने देखिन्छ ।’ उनले ८–१० ठाउँमा पहिरो नियमित झर्नेबाहेक अन्य ठाउँमा ठुला खालका समस्या नभएको बताए ।
‘तिहारपछिबाट ठेकेदार कम्पनीले निर्माणलाई तीव्रता दिने प्रतिबद्धता गरेको छ । पक्कै पनि काम अघि बढ्ने विश्वास गरेको छु,’ यादवले भने । पूर्वी खण्ड ६ अर्ब २१ करोड ३१ लाख रूपैयाँको लागतमा स्तरोन्नति भइरहेको छ । यो खण्डमा १७० वटा कल्भर्ट, १४ वटा माइनर पुल र तीनवटा मुख्य पुल निर्माण गर्नुपर्छ ।