दार्चुलाको अपिहिमाल गाउँपालिकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पर्वविशेष छुटमा सहुलियत दरमा चामल वितरण गर्न लागेको छ । अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिह ठेकरे वोहरा पहलपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गाउँपालिकामा रहेको खण्डेश्वरी डिपोबाट सहुलियत दरमा चामल विक्रि वितरण गर्न लागेको हो ।
यसअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुला खलंगाबाट मात्रै विजयादशमी, तिहार छट पर्वको अवसरमा छुट दरमा खाद्यन्न वितरण गरिरहेकोमा आजदेखि खण्डेश्वरी डिपोबाट पनि छुट दरमा चामल वितरण हुन थालेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले २०८० कार्तिक १३ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको केन्द्रिय कार्यालय काठमाण्डौ, प्रदेश कार्यालय धनगढी र शाखा कार्यालय दार्चुलालाई अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी डिपोबाट समेट छुट हुने गरि विक्रि वितरण गर्ने व्यवस्था मिलाई दिन अनुरोध गरेको गाउँपालिका अध्यक्ष भक्तसिह ठेकरे वोहराले जानकारी दिनुभयो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो कर्मचारी रहेको डिपोबाट मात्रै सहुलियत एवंम् छुटमा खाद्यन्न वितरण गर्ने गरेकोमा खण्डेश्वरी डिपोमा कर्मचारी खटाएपछि पर्व विशेष छुटमा चामल वितरण हुन लागेको अपिहिमाल गाउँपालिका अध्यक्ष वोहराले बताउनुभयो ।
खण्डेश्वरी डिपोबाट मोटो र मसिनोगरि मंसिर ३ गते सम्म २ सय क्विन्टल चामल छुट दरमा विक्रि वितरण हुने सुचना आफुले पाएको अध्यक्ष बोहराले बताए ।
खण्डेश्वरी डिपोमा यसअघि मोटो चामल प्रतिकिलोग्राम ५५ रुपैयामा विक्रि वितरण हुदै आइरहेकोमा दशै, तिहार र छट पर्वको अवसरमा ७ रुपैया छुट गरेर प्रति किलोग्राम ४८ रुपैयामा विक्रिवितरण हुने भएको छ । त्यस्तै मसिनो चामल यसअघि प्रतिकिलोग्राम ९३ रुपैयामा विक्रिवितरण भइरहेकोमा पर्वको अवसरमा ७ रुपैया छुट गरेर ८६ रुपैया प्रति किलोग्राम विक्रि वितरण हुने अपिहिमाल गाउँपालिकाले सुचनामार्फत जानकारी गराएको छ ।