बैतडी विमानस्थल पाटन ‘टिकटक’बनाउने स्पट बन्यो, करोडौंका संरचना प्रयोगविहिन

बैतडी –बैतडी विमानस्थल पाटनमा हवाई सेवा सुचारु नभएपछि अहिले यो विमानस्थल स्थानीयहरुको टिकटक बनाउने स्पट बनेको छ । करोडौं रुपैंया खर्च गरेर पुननिर्माण गरिएको विमानस्थल सुचारु नहुँदा टिकटक बनाउने स्पट बनेको हो ।

विमानस्थल पुनःनिर्माण भएपछि केही महिना समीट एयरले उडान गरेको भएपनि २०७८ चैतदेखि यो विमानस्थलमा हवाई सेवा पूर्ण रुपमा बन्द भएको छ । यात्रुको अभाव भएका कारण समीट एयरले उडान बन्द गरेको समीट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताए । यात्रुको अभावका कारण २०७८ चैत १० गतेपछि यो विमानस्थलमा हवाई सेवा बन्द भएको छ ।

यात्रुहरुले महंगो भाडा भएको बताउँदै आएका छन् । पाटनदेखि धनगढी सम्मको हवाई दूरी १७ मिनेटको रहेको छ । त्यो दुरीमा शुरुमा ३ हजार सात सय भाडा कायम गरिएपनि पछि भाडा बढेर ५ हजारसम्म पुगेको थियो । भाडा महंगो भएका कारण यात्रुहरुको अभाव भएको स्थानीय राजेश जोशीले बताए ।

विमानस्थल सुचारु भएपछि नियमति हवाई उडान हुने र यसले यो क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको थियो । तर हवाई उडान बन्द भएपछि अहिले बैतडी विमानस्थल पाटन टिकटक बनाउने थलो भएको स्थानीय भागरथी भट्टले बताइन् ।

दशैंको समयमा प्रसिद्ध उदयदेव मन्दिरमा लागेको जात्रामा सहभागी भएका सैयौं नागरिकले पाटन विमानस्थलमा टिकटक बनाएका छन् । विमानस्थलमा हवाई सेवा बन्द भएपछि विमानस्थलमा टिकटक बनाउनेहरुको संख्या बढेको हो ।

विमानस्थल पुननिर्माण भएपछि यो क्षेत्रमा धार्मिक पर्यटकको संख्या बढ्ने आसा गरिएको थियो । तर विमानस्थलमा हवाई सेवा बन्द भएपछि धार्मिक पर्यटकहरु समेत आउन नसकेका बरिष्ठ पत्रकार लक्ष्मीदत्त पाण्डेयले बताए । उनले भने ‘विमानस्थल सञ्चालनमा आउँदा नागरिक खुसी भएका थिए । तर हवाई सेवा बन्द भएपछि नागरिक निराश भएका छन् ।’

बैतडी विमानस्थल पाटनमा हवाई सेवा सुचारु नहुँदा करोडौं संरचना प्रयोगविहिन भएका छन् । परीक्षण उडान सफल भएपछि केही महिना समीट एयरले यो विमानस्थलमा उडान भरेको थियो । तर झण्डै डेढ बर्षयता हवाई सेवा बन्द भएपछि संरचनाहरु प्रयोगविहिन बनेका हुन् ।

विमानस्थलको धावन मार्ग ११ करोड खर्च गरेर कालोपत्रे गरिएको थियो भने ५ करोडको लगानिमा टर्मिनल भवन समेत निर्माण गरिएको छ । तर यी सबै संरचना अहिले प्रयोगविहिन अवस्थामा रहेका छन् ।

बैतडी विमानस्थल सुचारु गर्न सरोकारवाला निकायहरुले ध्यान नदिएको स्थानीयहरुले आक्रोश व्यक्त गरेका छन् । विमानस्थल पुननिर्माण भएसंगै सहज हुने आसा गरिएको भएपनि विमानस्थल टिकटक बनाउने र सेल्फी खिच्ने स्थल बनेको स्थानीय चमनकुमार भण्डारीले बताए । सहज भाडादर तय गरेर हप्ताको एकदिन भएपनि विमानस्थल सञ्चालन गर्नुपर्नेमा भण्डारीले जोड दिए ।

करोडौं खर्च गरेर पुननिर्माण गरिएको विमानस्थल सञ्चालनमा आउन नसक्नु निकै दुखद भएको तरुण दल बैतडीका कार्यवाहक अध्यक्ष महेशदत्त भट्टले बताए । विकासका संरचनाहरु प्रयोगमा आउन नसक्नु नेतृत्वको कमजोरी रहेको उनले औंल्याए ।

सम्बन्धित समाचार

ताजा समाचार