राजनीति गर्नेहरूलाई दबाब, तनाव र चुनौती धेरै हुन्छ प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीति गर्नेहरूलाई दबाब, तनाव र चुनौती धेरै हुने बताउनुभएको छ ।

आज शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८० को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले आफू अहिले दबाब, तनाव र चुनौतीको बीचमा रहेको बताउनुभयो । समाज भनेको राजनीति मात्रै नभएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामी राजनीति गर्नेहरू, अझ जिम्मेवारीमा भएकाहरूलाई राजनीतिकै दबाब, तनाव, एक खालको चुनौतीको बीचमा रहनुपर्ने हुन्छ । आज पनि मेरो दिन त्यस्तै छ । यस्तो बीचमा मानव सेवा आश्रमले यस वर्षको चाडपर्वमा कसैले सडकमा बस्नु नपरोस् भनेर जुन अभियान चलाउँदै हुनुहुन्छ, यसबाट सन्तोष, तनावमुक्त भएको जस्तो लागेको छ । समाज भनेको राजनीति मात्रै होइन, अरू पनि पक्ष छन् जस्तो लागेको छ ।’

कार्यक्रममा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशलाई सडक मानवमुक्त घोषणा गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सबै मिलेर सडक मानवमुक्त देश बनाउनुपर्ने बताउनुभयो ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले मानव सेवाले राम्रो काम गर्दै आइरहेको बताउनुभयो । मानव सेवामा लाग्ने व्यक्ति पूजनीय भएको भन्दै उहाँले यात्राको सफलताको शुभकामना पनि दिनुभयो ।

अर्का वरिष्ठ कलाकार हरिवंश आचार्यले मानव सेवाजस्तो पुण्यको काम कतै नभएको बताउनुभयो । उहाँले सडकमा बसेका असहाराको सहयोगी बन्नु जत्तिको ठूलो काम अन्यत्र नभएको बताउनुभयो ।

सम्बन्धित समाचार

ताजा समाचार