भारतीय सहयोगमा निर्मित हिमालय किरण पब्लिक क्याम्पसको भवन उद्घाटन

परराष्ट्रमन्त्री एनपी साउद र भारतीय राजदूत नवीन श्रीवास्तवले खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पसको क्याम्पस भवनको उद्घाटन गरेका छन् । भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको सो नवनिर्मित क्याम्पस भवनको बुधवार मन्त्री साउद र राजदूत श्रीवस्तावले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अनुसार ३।७४ करोडको लागतमा सो भवनको निर्माण गरिएको हो । नवनिर्मित तीन तल्ले क्याम्पस भवनमा कक्षा कोठा, विज्ञान प्रयोगशाला, कम्प्युटर, पुस्तकालय, बैठक हल रहेका छन् ।

उद्घाटन कार्यक्रममा परराष्ट्रमन्त्री साउदले भारतले नेपाल र नेपाली जनताको विकासमा योगदान पुर्याएको र भारत जस्तो छिमेकी पाउनु नेपालको लागि गर्वको विषय भएको बताए । उनले यो विकास परियोजनाले आउँदो पुस्ताका लागि शिक्षा सुनिश्चित गर्ने र उनीहरुको करियरमा सहयोग पुर्याउने भएकाले विशेष महत्व रहेको उनले बताए । परराष्ट्रमन्त्री साउदले नेपालको विकासमा भारतको निरन्तर सहयोगको अपेक्षा रहेको समेत बताए ।

कार्यक्रममा राजदूत श्रीवास्तवले उक्त परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको बताए । ‘यो सहकार्यले हालैका वर्षहरुमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रहरुमा ठूलो फड्को मारेको छ’ उनले भने, ‘दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकता अनुरुप यो विकास साझेदारीलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्ध रहेको छ ।’

हिमालय मिडिल स्कुलको रुपमा सन् १९४९ मा हिमालय किरण पब्लिक क्याम्पसको स्थापना भएको हो । सन् २००५ मा स्नातकोत्तर तहका कोर्ष सञ्चालन गर्न यस विद्यालयको स्तरोन्नति गरी हिमालय किरण पब्लिक क्याम्पस नाम राखिएको थियो । यस क्याम्पसमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमा ६० प्रतिशत छात्रा रहेका छन् । हाल यस क्याम्पसमा स्नातक तहमा व्यवस्थापन र शिक्षा र स्नातकोत्तर तहमा शिक्षा विषय अध्यापन गराइन्छ ।

सन् २००३ यता भारतले नेपालमा ५५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएकोमा ४८३ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये कोशी प्रदेशमा विभिन्न क्षेत्रका गरी ८४ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना रहेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार