‘टुहुरा बालबालिकाको सहारा बन्यो दुहुँ गाउँपालिका’

दार्चुला । गाउँपालिकाभित्रका अनाथ टुहुँरा बालबालिकाको शिक्षाको सम्पूर्ण जिम्मेवारी दुहुँ गाउँपालिकाले लिएको छ । गाउँपालिकाले शुक्रबार एक कार्यक्रमकाबीच पालिकाभित्र रहेका टुहुँरा बालबालिकाको आवाससहितको शिक्षाको सम्पूर्ण जिम्मेवारी लिएको हो ।
‘टुहुँरा बालबालिकाको सहारा दुहुँ गाउँपालिका’ भन्न्ने नारासहित पालिकाले टुहुँराको लागि निर्माण गरिएको आवास भवनको समुद्घाटन गरेको छ । आवासीय व्यवस्थासहित पालिकाले अनाथ बालबालिकाको शिक्षाको सम्पूर्ण जिम्मेवारी लिएको गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले बताए ।
दुहुँ गाउँपालिका वडा नम्बर ४ धारीमा आवास भवन निर्माण गरिएको छ, भने सोही ठाउँमा रहेको धारीपाटा मावि धारीमा विद्यार्थीको अध्ययनको व्यवस्थापन मिलाइएको छ ।
दुहुँ गाउँपालिकाभित्र रहेका अनाथ बालबालिकाको अभिभावक स्थानीय सरकार भएको भन्दै गाउँपालिका अध्यक्ष बडालले भने, ‘अब पालिकाभित्र कुनैपनि बालबालिकाले टुहुरा भएको अनुभूति गर्नुपर्न छैन् ।’ संविधानले प्रदत्त गरेको अधिकार अनुसार पालिकामा निशुल्क शिक्षाको व्यवस्था पूर्ण रुपमा कार्यान्वयनमा रहेको बताए । पालिकाले आधारभूत तहदेखि माध्यमिक तहको कक्षा १० सम्म कुनै पनि शुल्क नलिने व्यवस्था यसअघि कार्यान्वयनमा ल्याएको छ ।

अनाथ टुहुँरा बालबालिकाको सम्पूर्ण शिक्षा, आवास खाद्यान्नको अधिकार पालिकाले सुनिश्चित गरेको छ । आवासमा अहिले १२ जना विद्यार्थी बस्ने भएका छन् । उनीहरुलाई आवासमै अध्ययन गराउन एक जना शिक्षक र एक जना भान्छेको व्यवस्थापन पालिकाले गरेको छ ।
पालिकाभित्रका सबै विद्यालयमा आधारभूत तहमा कक्षागत र माध्यमिक तहमा विषयगत शिक्षक पालिकाले व्यवस्थापन गरेको अध्यक्ष बडालले बताए । अभिभावकबाट चन्दा संकलन गरेर शिक्षक राख्ने चलन अन्त्यगर्दै पालिकाले स्वयंसेवक शिक्षक राखेका छौं । शिक्षामा आमुल परिवर्तन ल्याउने गरी कार्य अघि बढेका छन् । एकैपटक परिवर्तन देखिदैन्, उनले भने, तर पनि विस्तारै शिक्षामा नयाँ आयाम थपिन्छ । पालिकाले गत वर्ष विद्यालयको परीक्षा पालिकास्तरमा गरेको थियो ।

यस्तै असहाय अनाथ बालबालिका आवास भवनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री गणेशसिह ठगुन्नाले दुहुँ गाउँपालिकाले सामाजिक सुरक्षाको काममा दुहुँले गरेको काम प्रंशसनीय रहेको बताए । उनले भने, विकास भनेको भौतिक निर्माण मात्र होइन्, सामाजिक सुरक्षामा भएका विकास पनि महत्वपूर्ण हो । यो कुरा देशका अन्य पालिकाले पनि सिको गर्नुपर्छ ।
दुहुँ गाउँपालिकाले देशकै अन्य स्थानीय तहभन्दा फरक तवरले अनाथ बालबालिकाको अभिभावकत्व भूमिका गरेर पुण्य काम गरेको भन्दै उनले थपे, यो पून्य कामको उद्घाटन गर्न पाउनु मेरो लागि गर्वको विषय हो ।
दुहुँ गाउँपालिका शिक्षा शाखा संयोजक लोकेन्द्र बहादुर बमले आवासीय अनाथालयमा पालिकाभित्र तथा बाहिर रहेका टुहुरा बालबालिकाहरुलाई समेट्दै लगिने बताए । अनाथालय व्यवस्थापनको जिम्मेवारी मावि धारीलाई दिइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार