कोसी प्रदेशका मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने

कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज सोमबार नै विश्वासको मत लिने भएका छन्। कार्यवाहक उपसभामुख सिर्जना दनुवार बिरामीको बहाना बनाएर अनुपस्थित भए पनि ज्येष्ठ सदस्यबाट प्रदेश सभाको बैठक सञ्चालन गराएर मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने भएका हुन्।

प्रदेश सभाका ज्येष्ठ सदस्य कांग्रेस सांसद इस्राइल मन्सुरीले बैठक सञ्चालन गरिरहेका छन्। मुख्मयन्त्री थापालाई विश्वासको मत लिन नदिन प्रमुख विपक्षी दल एमाले र राप्रपाले आफ्ना सबै ज्येष्ठ सदस्यहरूलाई बिदामा बस्न लगाएका छन्। आफ्नो बाध्यात्मक कारण भनेर संसद् सचिवालयलाई जानकारी गराए पनि उनीहरू एनजिओको कार्यक्रममा सहभागी भएका देखिएका छन्।

सभामुख सिर्जना दनुवार आफैँले ४ भदौमा मुख्यमन्त्री थापालाई विश्वासको मत लिने समय दिएर कार्यसूची प्रकाशित गराएकी थिइन्। तर, उनी आज बिहानै पार्टीको निर्देशनअनुसार बिरामीको बिदा लिएर काठमाडौं गइसकेकी छिन्।

सभामुखसहितको हस्ताक्षर प्रयोग गरेर सरकार गठन गरेको भन्दै २१ असारमा माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीसहितको गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका थापालाई सर्वोच्चले ११ साउनमा पदमुक्त गरेको थियो। त्यसपछि उनी सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर १६ साउनमा दोस्रोपटक मुख्यमन्त्री बनेका हुन्।

सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्न प्रदेश सभा सचिवालयले पाँच सदस्यीय अध्यक्षमण्डल निर्माण गरेको छ। अबको सभा सोही अध्यक्षमण्डलले ज्येष्ठताको आधारमा गर्नेछ।

कोसी प्रदेशमा सत्तागठबन्धनको सभा सञ्चालन गर्ने अध्यक्षसहित कुल ४७ मत छ। जसमा कांग्रेसको २९, माओवादीको १३, एकीकृत समाजवादीको चार र जसपाको एक सांसद छन्। यता विपक्षी गठबन्धन एमालेका ४० र राप्रपाका ६ सांसद छन्।

सम्बन्धित समाचार

ताजा समाचार