सरकार ढल्नुपर्ने कारण केही छैन मन्त्री शर्मा

काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले नै सरकार ढल्छ भन्नु अफवाहमात्रै भएको बताउनुभएको छ ।

मङ्गलवार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री शर्माले सरकार तत्काल ढल्नुपर्ने कुनै कारण नभएको भन्दै अफवाहमात्रै फैलाएको बताउनुभयो । उहाँले वर्तमान सरकार देशमा सुशासन कायम गर्ने प्रतिबद्धताअनुसार अघि बढिरहेको दाबी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार ढल्ने हल्ला मैले सुनेको छैन । सरकार ढल्नुपर्ने कारण केही छैन । सरकार राम्रोसँग चलिरहेको छ । सरकारले सुशासनको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएको छ । यस्तो बेलामा हल्ला चलेको छ भन्नु अफवाह हो ।’

मन्त्री शर्माले बालुवाटार जग्गा प्रकरणमा सरकारले अध्ययन र अनुसन्धान गर्दा भेटिएका प्रमाणका आधारमा पक्राउ गरिएको बताउनुभयो । उहाँले सरकारले अनुसन्धान कुन तहसम्म पुर्‍याउनेभन्दा पनि अनुसन्धानले जहाँ पुर्‍याउँछ त्यहाँसम्म पुग्ने बताउनुभयो । यस प्रकरणमा अनुसन्धान गर्दा माथिल्लो तहका वा तल्लो तह जुनसुकै व्यक्ति दोषी देखिए पनि कारबाहीको दायरामा सरकारले ल्याउने उहाँको भनाइ छ ।

सम्बन्धित समाचार

ताजा समाचार