जिम्बावेले अमेरिकालाई ३ सय ४ रनले हरायो

काठमाण्डौ – आईसीसी एकदिवसीय विश्व कप छनोटमा जिम्बावेले अमेरिकालाई ३ सय ४ रनको फराकिलो अन्तरले हराएको छ ।

जिम्बावेले दिएको ४ सय ९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको अमेरिका २५ ओभर १ बलमा १ सय ४ रनमा अलआउट भयो । अमेरिकाका अभिशेक परदकरले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ जिम्बावेका रिचार्ड नगरभा र सिकन्दर राजाले २र२ विकेट लिए ।

यसअघि घरेलु मैदान हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ४ सय ८ रन बनायो । जिम्बावेका कप्तान सेन विलियम्सले १ सय ७४ रन बनाए । उनले १ सय १ बलमा २१ चौका र ५ छक्का प्रहार गरे । यस्तै जोएलर्ड गुम्बीले ७८, सिकन्दर राजाले ४८ र रायन बर्लले ४७ रन बनाए । बलिङतर्फ अमेरिकाका अभिशेक परदकरले ३ र जेसी सिंहले २ विकेट लिए ।

यो एकदिवसीय अन्तर्राष्ट्रियमा रनको आधारमा दोस्रो सबैभन्दा फराकिलो अन्तरको हार हो । एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा ठूलो अन्तरको हार श्रीलङ्काले बेहोरेको छ । गएको जनवरीमा भारतले घरेलु मैदानमा भएको खेलमा श्रीलङ्कालाई ३ सय १७ रनले हराएको थियो ।

यो हारसँगै अमेरिका प्रतियोगितामा जितविहीन बनेको छ । अमेरिका ४ वटै खेलमा पराजित भएको हो । जिम्बावे भने प्रतियोगितामा अपराजित बन्यो ।

सम्बन्धित समाचार

ताजा समाचार