काठमाडौँ — चिनियाँ राजदूत छन सोङ सोमबार प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगे । छनले यसअघि पनि सिंहदरबार, बालकोट, धुम्बाराही पुगेर संसद्को सबैभन्दा ठूलो दल कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र सरकारका मन्त्रीहरूसँग भेटवार्ता गरिरहेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको कार्यक्रममा चीनको एक साताको भ्रमणमा सोमबार निस्किए । असार १ मा काठमाडौं आइपुगेको चिनियाँ कम्युनिस्ट पार्टी एसिया ब्युरोका उपमहानिर्देशक सु मिन नेतृत्वमा चिनियाँ टोलीले प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डीपी अर्याललगायतसँग भेटवार्ता गर्यो । जेठ २८ मा चीन गएको विभिन्न दलका सांसदसहित राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना चीन भ्रमणमै छन् ।
दाहाल पुस १० मा तेस्रो पटक प्रधानमन्त्री भएयता नेपाल र चीनबीच विभिन्न संयन्त्रको बैठक र उच्चस्तरीय भ्रमणहरू पनि भएका छन् । चिनियाँ लगानीमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ मा उद्घाटन गरिए पनि हालसम्म कुनै अन्तर्राष्ट्रिय उडान नभइरहेका बेला चीनले पोखरामै ‘चिनियाँ ड्रागन डुंगा फेस्टिभल’ आयोजना गर्न लागेको छ । उक्त फेस्टिबल असार ८ र ९ मा हुँदै छ । उक्त अवसर पारेर चीनको छेन्दु र हङकङदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा चार्टर्ड हवाई उडान हुने गरी गृहकार्य भएको छ ।
चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठ बेइजिङले नेपालमा दुई विषयमा सबैभन्दा बढी महत्त्व दिएको मान्छन् । ‘पहिलो कुरा कनेक्टिभिटी हो भने दोस्रो भनेको पूर्वाधार विकास,’ उनले भने, ‘चीनले नेपाल मात्र होइन, संसारभर कनेक्टिभिटी बढाउनुपर्छ भन्दै बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० अघि सारेको हो । त्यहीअनुसार चीनले पूर्वाधार निर्माणमा पनि जोड दिएको छ ।’
निर्वाचनपछि नयाँ सरकार आएलगत्तै चीनले सीमापार काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि टोली नेपालमा पठायो । जसले अहिले काम गरिरहेको छ । त्यसपछि कोभिड–१९ का कारण चल्न नसकेको रसुवागढी र तातोपानी नाकालाई सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्यो । चैत १५ मा ल्हासामा बसेको उद्योग, वाणिज्य तथा आपूर्ति सचिवस्तरीय नेपाल–चीन सीमा व्यापार र सहकार्यका लागि संयन्त्रको बैठकले चैत १८ बाट केरुङ–रसुवागढी सीमा व्यापार र जनताको आवतजावत हुने गरी नाका खुलाउने निर्णय गर्यो । उक्त अवसरमा नेपालबाट वाणिज्य सचिव मधुकुमार मरासिनीले संयन्त्रको बैठकको नेतृत्व गरेका थिए ।