व्याँसमा खुल्यो सीमा कार्यालय

लामो समयदेखि बन्द रहेको व्याँसस्थित सीमा प्रशासन कार्यालय खुला भएको छ । सदरमुकाम खलंगामा मात्रै बसेर सेवा दिइरहेका कर्मचारी व्याँस गएर कार्यालय खुला गरेका हुन् ।
व्याँसको कार्यालय खुलेसँगै सीमा प्रशासन कार्यालय दार्चुलाले दुई ठाउँबाट सेवा दिन थालेको छ । व्याँसस्थित सीमा प्रशासन कार्यालयले छांगरु र सदरमुकाम खलंगास्थित तिंकर खेडामा कार्यालय स्थापना गरेर सेवा दिन थालेको हो ।
व्याँस गाउँपालिका–१ छाङ्गरु तिंकरका स्थानीयको बसाइसराई सरेसँगै सीमा प्रशासन कार्यालयका दुई जना कर्मचारी छाङ्गरु पुगेका हुन् । माथिल्लो निकायलाई जानकारी गराउने, स्थानीयलाई सिफारिस दिने जिम्मेवारी पाएको निकाय वर्षौदेखि छांगरु उक्लिन सकेको थिएन ।
अहिले खरिदार कल्यानसिह कुवर नेतृत्वमा दुई जना कर्मचारी पुगेर कार्यालय खुला गरिएको निमित्त कार्यालय प्रमुख मानबहादुर खडायतले बताए । कार्यालयमा एक जना नितेश ऐतवाल कार्यालय सहयोगी छन् ।
सीमाको सुरक्षा अवस्था, स्थानीयको नागरिकता र छिमेकी मुलुक जान पास दिने लगायत काम गर्न २०३४ मा यो कार्यालय खुलेको थियो । छांगरुमा रहेको सीमा प्रशासन कार्यालयमा कर्मचारी नजाने भएपछि स्थानीय खलंगामै आएर सेवा लिने गरेका थिए । बिगतमा जिल्ला प्रशासन कार्यालयसँगै रहेको सीमा प्रशासन कार्यालय गतवर्षबाट तिंकरखेडामा छुट्टै कोठा भाडामा लिएर कार्यालय खोलिएको थियो ।
सौका समुदायको दुवैतर्फ बसाई रहेको कारण घर भाडामा लिएर सेवा दिने काम भइरहेको उनले बताए । सीमा प्रशासन कार्यालय दार्चुलामा ७ जनाको दरबन्दी रहेको छ ।
कार्यालय प्रमुख मोहनसिह धामी अध्ययन बिदामा जापान गएपछि अहिले सीमा प्रशासन निमित्तको भरमा चलेको छ । खलंगास्थित तिंकरखेडा कार्यालयमा मानबहादुर खडायत कार्यरत छन् । सीमा प्रशासन कार्यालयले खलंगास्थित घरको मासिक ७ हजार ५ सय रुपैयाँ र छाङ्गरुमा मासिक २ हजार घर भाडा तिर्दै आएको छ ।
बितमा छांगरुमा रहेको सीमा प्रशासन कार्यालयका कर्मचारीले सीमा क्षेत्रमा भइरहेका गतिविधि नियमित रुपमा जिल्ला प्रशासन कार्यलयलाई अवगत गराउने गरेको थियो । छांगरु कालापानीभन्दा झण्डै १४ किलोमिटर तल पर्छ । भारतले अतिक्रमण गरेको क्षेत्रको गतिविधि कर्मचारीले गोप्य रुपमा प्रशासन कार्यालयलाई दिने गरेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार