दार्चुला सहित सुदूरपश्चिमका तीन जिल्ला हाई अलर्टमा,सतर्कता अपनाउन आग्रह

दार्चुला । मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गते सम्म नेपालमा धेरै भारी वर्षा देखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै अलर्ट जारी गरेको छ । सोही सूचनाका आधारमा सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाउन मौसम कार्यालय, स्थानीय तह लगायत विभिन्न संघ संस्थाले आग्रह गरिरहेको छ ।
महाकाली बेसिन फिल्ड कार्यालयका कार्यालय प्रमुख ई. सञ्जय कुमार शाहले मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचना अनुसार सुदूरपश्चिमका ३ जिल्ला हाई अलर्टमा रहेको बताए । उनले अनुसार दार्चुला, बाजुरा र बझाङलाई हाई अलर्टमा राखिएको छ ।

यी जिल्ला सँगै प्रदेशका अन्य सबै जिल्लामा पनि सतर्कता रहन आवश्यक रहेको उनले बताए । सोही अनुसार कार्यालयले विभिन्न माध्यमबाट सुदूरपश्चिमका जनतालाई पूर्व सूचना दिने काम गरिरहेको उनले बताए ।
उनले प्रदेशमा बाढीको पूर्व सूचना दिने ३६ वटा रडार लेभल सेन्सर जडान गरिएको बताए । जसले पानीको बहाव बढेको छ या घटेको बारेमा हरेक १०–१० मिनेटको तथ्याङ्क दिने गर्दछन् । जसलाई जनताले सजिलै मोबाइलबाट हेर्न सक्ने उनले बताए । उनले जोखिम बढेमा मोबाइलमा मेसिज पनि पठाइने बताए ।

उनले थोरै समयमा धेरै पानी पर्दा जोखिम बढी हुने भएकाले यस्ता बेला सजकता अपनाउन आवश्यक रहेको बताए । यस्तो बेला जोखिम पहिचान गरिएका क्षेत्रका जनतालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न आवश्यक हुने उनले बताए ।

मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गते गण्डकी र लुम्बिनी प्रदेशमा धेरै भारी वर्षा र अति भारी वर्षा र मधेस, कोसी, बागमती र सुदूरपश्चिम प्रदेशमा पनि भारी देखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशमा पनि थोरै वर्षको सम्भावना रहेको जनाएको छ ।

उत्तर अन्डरमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बगांलको खाडीको मध्य भू–भाग आसपासमा रहेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र भई पश्चिम उत्तर पश्चिम दिशातिर सर्ने देखिएको महाशाखाले जनाएको छ ।
सोही सूचनाको आधारमा यस क्षेत्रका स्थानीय तहहरूले पनि सतर्कता अपनाउन आग्रह गर्दै सूचना जारी गरेका छन् ।

सुदूरपश्चिममा विभिन्न स्थानीय तह सँगै यस क्षेत्रमा काम गर्ने संघसस्थाहरुले पनि मौसम पूर्वानुमान महाशाखाको बुलेटनका आधारमा विभिन्न माध्यमबाट सूचना प्रभाव गर्ने काम गरिरहेका छन् । धेरै जोखिम भएका ठाउँहरूमा माइकिङ समेत गरेर सूचना प्रवाह गर्ने काम भइरहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार