दार्चुलामा बढ्दो लागूऔषध कारोबार, तीन वर्षमा ३५ मुद्दा

दार्चुला । दार्चुलामा लागूऔषध कारोबार तथा सेवनसम्बन्धी गतिविधि बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाको तीन आर्थिक वर्षको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ सम्म लागूऔषधसम्बन्धी ३५ वटा मुद्दा दर्ता भएका छन् ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ९, २०८१/८२ मा १२ र २०८/८३ मा १४ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन् । ती मुद्दामा क्रमशः १९, २३ र २५ जना प्रतिवादी पक्राउ परेका छन् । पछिल्लो तीन वर्षको तथ्यांकले लागूऔषधसम्बन्धी मुद्दा र पक्राउ पर्ने व्यक्तिको संख्या वर्षेनी बढ्दै गएको देखाएको छ ।

यस्तै प्रहरीले चालू आर्थिक वर्षकाे हालसम्म २ वटा मुद्दा दर्ता गरेकाे छ भने दुई जना पक्राउ गरेकाे छ । उनका अनुसार उनिहरूबाट १३६ ग्राम चरेश र १५० ग्राम गाजा बरामद गरिएको छ ।

पक्राउ परेकामध्ये अधिकांश पुरुष रहेका छन् । तीन वर्षमा पक्राउ परेका ६७ जनामध्ये ६२ जना पुरुष र पाँच जना महिला रहेका छन् । पेशागत आधारमा हेर्दा १० जना कृषि, तीन जना कर्मचारी, एक जना जनप्रतिनिधि र तीन जना विद्यार्थी रहेका छन् भने अन्यसमेत गरी २५ जना प्रतिवादी रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

उमेर समूहका आधारमा लागूऔषध मुद्दामा पक्राउ पर्नेमा २१ देखि २५ वर्ष उमेर समूहका व्यक्तिको संख्या सबैभन्दा बढी रहेको छ । यो उमेर समूहका ११ जना पक्राउ परेका छन् । त्यसपछि २६ देखि ३० वर्ष उमेर समूहका १० जना, ३१ देखि ३५ वर्षका नौ जना, ४० देखि ४९ वर्षका दुई जना र ५० वर्षभन्दा माथिका दुई जना पक्राउ परेका छन् ।

महाकालीमा सबैभन्दा बढी मुद्दा
जिल्ला प्रहरी कार्यालयका डिएसपी गाैरब महतका अनुसार स्थानीय तहमा लागूऔषधसम्बन्धी मुद्दा सबैभन्दा बढी महाकाली नगरपालिकामा देखिएको छ ।
तीन आर्थिक वर्षमा महाकाली नगरपालिकामा मात्रै १९ वटा मुद्दा दर्ता भएका छन् । शैल्यशिखर नगरपालिकामा नौ, मालिकार्जुन गाउँपालिकामा तीन, मार्मा गाउँपालिकामा दुई, दुहुँ गाउँपालिकामा एक र नौगाड गाउँपालिकामा एक मुद्दा दर्ता भएको छ ।

व्याँस, अपिहिमाल र लेकम गाउँपालिकामा भने उक्त अवधिमा लागूऔषधसम्बन्धी कुनै मुद्दा दर्ता नभएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

प्रहरीले तीन आर्थिक वर्षमा लागूऔषधका रूपमा ठूलो चरेस तथा ब्राउन हेरोइनसमेत बरामद गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा २४ किलो ३२ ग्राम ९९ मिलिग्राम चरेस र २१ ट्याब्लेट एचएससी बरामद भएको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा तीन किलो २९८ ग्राम ९४ मिलिग्राम चरेस र तीन ग्राम ३२० मिलिग्राम ब्राउन हेरोइन तथा आर्थिक वर्ष २०८२/८३ मा तीन किलो ४८६ ग्राम चरेस र १० ग्राम ९५ मिलिग्राम ब्राउन हेरोइन बरामद भएको तथ्यांकमा देखिन्छ ।

गाँजा खेती नियन्त्रण अभियान
प्रहरीले जिल्लाभर गाँजा फडानी अभियानसमेत सञ्चालन गर्दै आएको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालय दार्चुलामा भएको समन्वय बैठकमा प्रस्तुत तथ्यांकअनुसार पछिल्ला वर्षमा गाँजा फडानी गरिएको क्षेत्रफलमा समेत वृद्धि भएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा मात्रै जिल्लाभर २२ हजारभन्दा बढी गाँजाका बोट फडानी गरिएको उल्लेख छ । सोही अवधिमा अफिमका बोटसमेत बरामद गरिएको छ ।

लागूऔषध नियन्त्रणका लागि प्रहरीले स्थानीय तह, विद्यालय, समुदाय तथा अन्य सरोकारवाला निकायसँग समन्वय गर्दै आएको जनाएको छ ।
जिल्लामा लागूऔषधसम्बन्धी चेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । आर्थिक वर्ष २०८१/८२ मा २४४ कार्यक्रममार्फत ४ हजार ६४२ जनालाई र आर्थिक वर्ष २०८२/८३ मा ४०५ कार्यक्रममार्फत ६ हजार ७३३ जनालाई सचेतनामूलक कार्यक्रममा सहभागी गराइएको तथ्यांक प्रस्तुत गरिएको छ ।
चालु आर्थिक वर्षमा समेत २८ कार्यक्रममार्फत ४८६ जनालाई लक्षित गरिएको छ ।
प्रहरीले लागूऔषध नियन्त्रणका लागि रोकथाम तथा सचेतना, सूचना आदान–प्रदान, निगरानी तथा नियन्त्रण, उपचार तथा पुनःस्थापना र सामाजिक पुनःमिलनलाई प्राथमिकतामा राखेको जनाएको छ ।

लागूऔषध नियन्त्रणका लागि जिल्ला, पालिका र वडा तहमा गठित समितिलाई थप सक्रिय बनाउने तथा समुदायस्तरमा समन्वय र सूचना प्रणाली बलियो बनाउने आवश्यकता रहेको प्रहरीको निष्कर्ष छ ।
नेपालमा लागूऔषधको कारोबार, ओसारपसार, बिक्री वितरण तथा सेवनलगायतका कार्य कानुनद्वारा निषेधित छन् ।

लागूऔषध नियन्त्रणका लागि दार्चुलामा सीमा नाकामा कडाइ
दार्चुलामा लागूऔषधको बढ्दो जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि सीमा नाकामा चेकजाँच कडाइ गर्ने निर्णय गरिएको छ । युवाहरूमा लागूऔषध दुव्र्यसनको प्रभाव देखिन थालेपछि जिल्लाका सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सामाजिक संघसंस्थाको समन्वयमा नियन्त्रणका उपाय प्रभावकारी बनाउने निर्णय गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी बर्तराज पाैडेलकाे अध्यक्षतामा बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

लागूऔषध दुव्र्यसनको वर्तमान अवस्था र नियन्त्रणका उपायबारे छलफल गर्दै जिल्ला प्रहरी कार्यालय दार्चुलाले लागूऔषध रोकथाम तथा नियन्त्रणसम्बन्धी प्रस्तुतीकरणसमेत गरेको थियो ।

छलफलपछि जिल्लाका सबै स्थानीय तहले वडा, टोल विकास संस्था तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी विद्यालय, क्याम्पस तथा युवाक्लबमा लागूऔषधविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् ।

बैठकले स्थानीय सुरक्षा युनिटहरूले समेत वडा तथा पालिकासँग सघन समन्वय गर्नुपर्नेमा जोड दिएको छ । लागूऔषध नियन्त्रणका लागि सुरक्षा निकायबाट सीमा नाकामा कडाइका साथ चेकजाँच गर्ने व्यवस्थालाई निरन्तरता दिने र आवश्यकताअनुसार चेकजाँच थप कडा बनाउने निर्णय गरिएको छ । सीमा नाकाबाट लागूऔषध भित्रिने कार्यलाई पूर्ण रूपमा रोक्ने गरी सुरक्षा निगरानी बढाउने निर्णयसमेत भएको छ ।

त्यस्तै, लागूऔषध नियन्त्रण अभियानमा सरकारी तथा गैरसरकारी निकाय, सामाजिक संघसंस्था, नागरिक समाज, धार्मिक संस्था, महिला सञ्जाल, आमा समूह तथा बुद्धिजीवी वर्गले आ–आफ्नो क्षेत्रबाट योगदान गर्ने निर्णय गरिएको छ । लागूऔषधको बिक्री–वितरण तथा सेवनसम्बन्धी सूचना प्राप्त भएमा तत्काल सुरक्षा निकायलाई जानकारी गराउनसमेत आग्रह गरिएको छ ।

लागूऔषध दुव्र्यसनको प्रभाव नियन्त्रणमा प्रभावकारिता नबढाए सामाजिक असुरक्षा निम्तिन सक्ने भएकाले सुरक्षा निकायबाट हुने गस्ती तथा पेट्रोलिङलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ ।

साथै, लागूऔषध नियन्त्रणसम्बन्धी अनुगमन प्रणालीलाई अझ सशक्त बनाउनेमा समेत बैठकले जोड दिएको छ ।
बैठकले जिल्लाका सबै स्थानीय तहलाई आफ्नो पालिकाभित्र लागूऔषध दुव्र्यसनमा रहेका व्यक्तिहरूको तथ्यांक गोप्य रूपमा संकलन गरी जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई उपलब्ध गराउन आग्रह गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार