दार्चुला । राष्ट्रिय गौरवको महाकाली करिडोर योजनाअन्तर्गत गत आर्थिक वर्ष २०८२-८३ मा जम्मा एक दशमलव सात किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । डेढ दशकअघि सुरु भएको योजनाको निर्माण पर्याप्त बजेट अभावका कारण निर्माण कार्य सुस्त भएको छ ।

करिब १८ अर्ब १६ करोड रुपैयाँ लागत अनुमान गरिएको महाकाली करिडोर योजना आर्थिक वर्ष २०६६-६७ देखि सञ्चालनमा छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिंकर नाका जोड्ने ४१३ किलोमिटर लामो सडक योजनामा हालसम्म चार अर्ब रुपैयाँ खर्च भएको छ । कुल लम्बाई मध्ये योजनाले ३३४ किलोमिटर सडक निर्माण गर्दैछ भने ७९ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ ।

योजना प्रमुख ईश्वर कार्कीका अनुसार गत आर्थिक वर्षमा १.७ किलोमिटर सडक कालोपत्रे, २.५ किलोमिटर सडक ग्राभेल तथा १७ किलोमिटर सडकमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । यसअघि डडेल्धुराको परशुराम नगरपालिका–७ मा ३.३ किलोमिटर सडक कालोपत्रे गरिएको थियो ।
हालसम्म योजनाको २८८.५ किलोमिटर सडकमा ट्रयाक खुलेको छ भने ४५.५ किलोमिटर सडकमा अझै ट्रयाक खोल्न बाँकी छ । योजना प्रमुख कार्कीका अनुसार कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ३२ किलोमिटर, बैतडीमा १४१.५ किलोमिटर र दार्चुलामा १०४ किलोमिटर सडकमा ट्रयाक खुलेको छ ।
योजनाअन्तर्गत रहेका १३ ठेक्कामध्ये हालसम्म तीनवटा मात्रै सम्पन्न भएका छन् । नेपाली सेनामार्फत निर्माण भइरहेको सडकको करिब २० किलोमिटर ट्रयाक खुलेको छ ।

गत आर्थिक वर्षमा विनियोजित ३७ करोड ८२ लाख रुपैयाँमध्ये ३७ करोड ७३ लाख रुपैयाँ खर्च भएको योजनाले जनाएको छ । चालु आर्थिक वर्ष २०८३-८४ का लागि ३९ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । योजना प्रमुख कार्कीका अनुसार पर्याप्त बजेट विनियोजन नहुँदा निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन् ।
यस आर्थिक वर्षमा दार्चुलाको तिमुरपाटादेखि जोशीगाउँसम्म चार किलोमिटर तथा पिपलचौरीदेखि हुती घोरेटासम्म २.९९ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का प्रक्रिया अघि बढाइने भएको छ । साथै वीरेन्द्रवन–चल्लेगडा र चल्लेगडा–हिकिला–पिपलचौरी–धौलाकोट खण्डमा कालोपत्रेको काम हुनेछ ।
बाढिले बगाएको पुल अझै बनेनन्,
महाकाली करिडोरअन्तर्गत दार्चुलामा बाढीले बगाएका दुई मोटरेबल पुलको पुनर्निर्माण अझै सुरु हुन नसक्दा स्थानीयवासीले वर्षायाममा सास्ती भोग्नुपरेको छ । दुहुँ गाउँपालिका र महाकाली नगरपालिका जोड्ने मुख्य सडकमा रहेका लास्कु खोला र निजाङगाड खोलाका पुल नबन्दा दैनिक आवतजावतमा सास्ती भोग्नुपरेको हो ।
निजाङगाड खोलाको मोटरेबल पुल २०७८ भदौ १३ गते आएको बाढीले बगाएको थियो भने लास्कु खोलाको पुल २०७९ भदौ २४ गते आएको बाढीले बगाएको हो ।
श्रीबगडका स्थानीय अनिल जोशीका अनुसार हिउँदमा खोला तरेर आवतजावत गर्न सकिए पनि वर्षायाममा लामो दूरी घुम्नुपर्ने अवस्था आएको छ । सवारीसाधनसमेत खोलाबाटै वारपार गराउनुपर्ने बाध्यता रहेको उनले बताए । ‘जीपहरु खोला घटेको बेला चल्ने अवस्था छ,’ उनले भने, ‘तर मोटरसाइकल चलाउन निकै सास्ती छ ।’ स्थानीयले जोखिमपूर्ण तवरले यात्रा गर्नुपर्ने अहिले पनि बाध्यता छ । लास्कु खोलामा स्थानीयको आवतजावतको लागि जोखिमपूर्ण पुल बनाइएको छ ।
महाकाली करिडोर योजना प्रमुख ईश्वर कार्कीका अनुसार दुवै पुल पुनर्निर्माणका लागि पुनः डिजाइन गर्नुपर्ने अवस्था आएको बताउँछन् । पुल बगेपछि निर्माण कम्पनीले बीमा दाबी प्रक्रिया अघि बढाएको र त्यसपछिको प्राविधिक प्रक्रिया पूरा भएपछि मात्रै पुनर्निर्माण अघि बढ्ने उनले बताए ।











