‘हरित दार्चुला’ अभियान सुरु, एक घरमा दुई बिरुवा रोपिने

दार्चुला । डिभिजन वन कार्यालय दार्चुलाले ‘हरित दार्चुला’ अभियान सुरु गरेको छ । अभियानअन्तर्गत एक घरमा कम्तीमा दुई वटा बिरुवा रोप्ने लक्ष्य लिइएको छ ।
अभियानको घोषणा गर्दै डिभिजन वन कार्यालयका प्रमुख सुवास कुँवरले ‘वृक्षारोपण गरौँ, वातावरण बचाऔँ’ भन्ने नारासहित सफा, सुन्दर र हराभरा दार्चुला निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

उनका अनुसार अभियानमार्फत वन तथा जैविक विविधता संरक्षण, जलाधार संरक्षण, हरित उद्यम विकास, प्रदूषण न्यूनीकरण तथा नियन्त्रण, साथै वनको दिगो व्यवस्थापन र उपयोगलाई प्राथमिकता दिइनेछ ।

अभियानअन्तर्गत कार्यालय परिसर, सार्वजनिक स्थल, पर्ती तथा ऐलानी जग्गा, सामुदायिक वन क्षेत्र, खोला किनार, सडक छेउ तथा पहिरो प्रभावित क्षेत्रमा वृक्षारोपण गरिनेछ । साथै नमुना प्लट स्थापना, बिरुवा उत्पादन तथा वितरण कार्यक्रमसमेत सञ्चालन गरिनेछ । हाल डिभिजन वन कार्यालयले करिब ४५ हजार बिरुवा उत्पादन गरिसकेको जनाएको छ ।

हरित उद्यम विकास कार्यक्रममार्फत वनमा आधारित उद्यम प्रवद्र्धन, रोजगारी सिर्जना तथा आयआर्जनका कार्यक्रम सञ्चालन गरिने कार्यालयले जनाएको छ । यस्तै, प्रदूषण न्यूनीकरणका लागि प्लास्टिकको प्रयोग घटाउने, कागज तथा कपडाका झोला र दुना, टपरीको प्रयोगलाई प्रोत्साहन गर्ने, फोहोर तथा ढल व्यवस्थापन, वन डढेलो नियन्त्रण र पानीका मुहान संरक्षणलगायतका गतिविधि सञ्चालन गरिने प्रमुख कुँवरले बताए ।

सरोकारवालाले वृक्षारोपण अभियानसँगै बिरुवाको संरक्षण र दीर्घकालीन व्यवस्थापनमा पनि विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् । प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले रोपिएका बिरुवाको नियमित संरक्षण र दिगो व्यवस्थापन सुनिश्चित हुने गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
अभियानको सुरुआतसँगै डिभिजन वन कार्यालय परिसरमा वृक्षारोपण गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार