ग्यास अभाव र कालोबजारी रोक्न दार्चुलामा संयुक्त बजार अनुगमन

दार्चुला । दार्चुलामा ग्यासको कृत्रिम अभाव, कालोबजारी तथा चर्को मूल्य नियन्त्रणका लागि संयुक्त बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाको समन्वयमा महाकाली नगरपालिका वडा नम्बर ४ र ५ अन्तर्गत गल्फैदेखि बाँगाबबगड क्षेत्रसम्म रहेका १६ वटा ग्यास डिलर तथा विक्रेता फर्ममा अनुगमन गरिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीको नेतृत्वमा गरिएको अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायत सरोकारवाला निकायको सहभागिता रहेको थियो । अनुगमन टोलीले बजारमा हाल ८०२ थान ग्यास सिलिन्डर सुरक्षित भण्डारण अवस्थामा रहेको पाएको जनाएको छ।

अनुगमनका क्रममा उपभोक्ताको माग र सहजतालाई मध्यनजर गर्दै हाल ७.१ किलो तौल भएका आधा सिलिन्डर मात्र बिक्री–वितरण भइरहेको पाइएको छ। ती सिलिन्डरको मूल्य प्रतिगोटा रु १४५० देखि रु १५०० सम्म कायम रहेको प्रशासनले जनाएको छ। प्रशासनले बजारमा कृत्रिम अभाव सिर्जना नगर्न, कालोबजारी तथा ग्यास लुकाउने कार्य पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ। साथै निर्धारित मूल्यभन्दा बढी रकम असुल गरे कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ।

उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर खरिद तथा भण्डारण नगर्न आग्रह गर्दै प्रशासनले बजारमा अभाव, चर्को मूल्य वा कालोबजारी देखिए तत्काल जानकारी गराउन समेत अनुरोध गरेको छ।

सम्बन्धित समाचार

ताजा समाचार