दार्चुला – दार्चुलाका धेरै दुर्गम बस्तीहरू अझै सडक सञ्जालको पहुँचबाट टाढा छन् । सडकको लागि सरकारी योजना, बजेट र प्रक्रिया ढिलो हुँदा वर्षौंसम्म पर्खिनुपर्ने अवस्था सामान्य जस्तै बनिसकेको छ ।
तर दार्चुलाकै मालिकार्जुन गाउँपालिका–२ का केही बस्तीका नागरिकले भने सरकारी योजना, बजेट र प्रकृया नपर्खेर आफै विकासको काम गर्न थालेका छन् ।
यहाँको लिसेसल्ला, पारी, खालीडाडा, भदारी र बजानीका स्थानीयले सरकारको मुख ताकेर बस्नुको सट्टा आफ्नै लगानीमा झण्डै साढे चार किलोमिटर सडक निर्माण गरेका छन् । पहाडी भौगोलिक जटिलता, स्रोतसाधनको अभाव र प्राविधिक चुनौतीका बीच स्थानीयले आफ्नै लगानीमा सडक खनेका हुन् ।

यो सडक निर्माण अभियानको मुख्य अगुवाई स्थानीय गजेन्द्रसिह धामी, र तिलकसिह धामी लगायतकाले गरे । ‘यो गाउँमा सडक पुग्ने कुरा सोचेका पनि थिएनौ,’ स्थानीय तिलक धामी भन्छन्, ‘तर हामी गाउँले सबै जुट्यौं, अहिलेसडक बनेको छ ।’
‘हामीले २०७४ सालपछि स्थानीय सरकारलाई पनि पर्खियौं । तर सडक आउने संकेत देखिएन । सडक गाउँभन्दा तल र गाउँ भन्दा माथिको विकट वस्ती पनि पुग्यो,’ धामीले भने, ‘हाम्रोतिर आउने छाटकाट तत्कालै नदेखेपछि गाउँले जुट्यौं र डोजर ल्याएर सडक बनायौं ।’ सडक बनाउन सक्नेले सक्दो आर्थिक सहयोग जुटायौं । अहिले गाउँ बस्तीमा हिड्डुल गर्न सडकले सहजता ल्याएको छ ।


‘आज हामीले बनाएको सडकमा हिँड्दा गर्व लाग्छ’ सडकका मुख्य अगुवा गजेन्द्रसिह धामीले भने, ‘अब यसलाई महाकाली नगरपालिकासँग जोड्ने हाम्रो लक्ष्य छ ।’ दुई किलोमिटर सडक काटिएपछि महाकाली नगरपालिका–९ थाप्ला जोडिन्छ । उनका अनुसार हामीले सडक खनेका छौ । अब सरकारले पनि सहयोग गर्नुपर्छ । सुरुवातमा थोरै व्यक्तिबाट सुरु भएको काम बिस्तारै सामूहिक अभियानमा परिणत भयो ।
यो सडक निर्माणमा गजेन्द्र धामीको मात्रै १५ लाख बढि लगानी भएको छ । सडक मात्र होइन धामी परिवारले गाउँमै मन्दिर निर्माणमा १५ लाख खर्च गरेका छन् ।
पूर्व शिक्षक चन्द्रसिह धामीका अनुसार यति लामो सडक खन्न ठेक्कामा भए, करोडौं रुपैयाँ लाग्थ्यो । तर यहाँका स्थानीयले थोरै लगानीमा सोचेभन्दा राम्रो सडक निर्माण गरेर देखाएका छन् । गाउँले सबै मिल्दा असम्भव भन्ने कुरा पनि सम्भव हुँदो रहेछ, भन्ने उदाहारण भएको धामी बताउँछन् ।
यो सडक निर्माणपछि स्थानीयको दैनिकीमा परिवर्तन आएको छ । दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न जीप ट्याक्टर घरसम्मै पुग्न थालेका छन् । पहिले घण्टौं हिडेर जानुपथ्र्यो । अहिले गाडीको सहज व्यवस्था भएको उनले बताए ।
धामी भन्छन, ‘अब यसलाई दिगो बनाउन ग्रेड मिलाउने, नाली व्यवस्थापन गर्ने जस्ता काममा सरकारको सहयोग आवश्यक छ ।’ सडक बनेपछि विरामीले अस्पताल जान सहजता भएको छ । खाद्यान्न सस्तो मूल्यमा पुग्न थालेको उनको भनाई छ । गाउँमा विद्यालय, सडक, मन्दिर लगायतका संरचना बनेका छन् । यो गाउँमा खानेपानी योजना निर्माण अधुरै छ । यहाँका नागरिकको लागि खानेपानीको लागि केहि गर्नुपर्ने छ, पूर्वशिक्षक धामीले भने ।
मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामीका अनुसार गाउँपालिकाका धेरै बस्तीमा अहिले सडक विस्तार भइरहेको छ । ‘यो क्षेत्रमा पनि सडक बनाउने योजना थियो, तर स्थानीयको यो पहलले अरूलाई पनि प्रेरणा दिएको छ ।’ उनले स्थानीयको प्रयासप्रति आभार व्यक्त गर्दै आगामी योजनामा यस सडकलाई प्राथमिकता दिने बताए ।
‘हामीले सडकको प्राविधिक सर्भे गरिसकेका छौं । अब यसलाई नियमित सञ्चालन योग्य बनाउन बजेट विनियोजन गर्छौं,’ उनले भने । ‘जनताको आवश्यकता र अपनत्व हुँदा विकास सम्भव हुन्छ भन्ने यो उत्कृष्ट उदाहरण हो ।’ सरकारले बनाउनुपर्ने ठाउँमा जनता आफै जागेपछि स्थानीय सरकारले गर्नुपर्ने सहयोगको लागि आफु सधैं तत्तपर रहेको उनको भनाई छ । सडक सञ्जालले हरेक वडा र वस्ती जोडने मालिकार्जुन जिल्लामै पहिलो पालिका छ ।
दार्चुलाका प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्नाले जनताले आफै गरेको विकासको कार्यलाई राज्यले सम्मान गर्नुपर्ने बताए । ‘जिल्ला भौगोलिक रुपमा ठूलो छ । सरकारसँग स्रोत–साधन सीमित छन्, सबै ठाउँमा एकैपटक विकास सम्भव हुँदैन,’ उनले भने । निर्माण गरिएको सडकको अनुगमन गर्दै पूर्वमन्त्री समेत रहनुभएका ठगुन्नाले विकास निर्माणमा स्थानीयको कामको खुलेर प्रंशसा गरे ।










