दार्चुला : मालिकार्जुन गाउँपालिका–५ का वडाध्यक्ष मदनबहादुर चन्दले मजदुरको बक्यौता ज्याला भुक्तानी नभएको भन्दै दार्चुला–डोल्पा ग्रामीण विद्युतीकरण आयोजनामा प्रयोग हुँदै आएको बोलेरो जीप नियन्त्रणमा लिएका छन् ।
एक वर्षअघि डाँडाकोट क्षेत्रमा गरिएको विद्युतीकरण कार्यमा संलग्न स्थानीय मजदुरले हालसम्म ज्याला नपाएको गुनासो गरेपछि सो जीप नियन्त्रणमा लिइएको हो । आयोजनाले प्रयोग गर्दै आएको बागमती प्रदेश ०१–०२८ च ०६४७ नम्बरको बोलेरो जीप नियन्त्रणमा लिएर प्रहरी चौकी शंकरपुर पस्तीलाई बुझाइएको वडाध्यक्ष चन्दले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरणअन्तर्गत सञ्चालित दार्चुला–डोल्पा ग्रामीण विद्युतीकरण आयोजनाले जिल्लाका विभिन्न स्थानीय तहमा विद्युतीकरणको काम गर्दै आएको छ । तर काम सम्पन्न गराएर पनि लामो समयसम्म मजदुरलाई ज्याला नदिएको पाइएपछि बाध्य भएर गाडी नियन्त्रणमा लिनु परेको चन्दको भनाइ छ ।
मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ४ र ५ का मजदुरहरूले आफूहरूले गरेको कामको लाखौं रुपैयाँ ज्याला आयोजनाका ठेकेदारले नपाएको भन्दै वडा कार्यालयमा उजुरी दिएका थिए ।
वडा नम्बर ५ का मात्रै मजदुरहरूको चार लाख रुपैयाँभन्दा बढी रकम ठेकेदारबाट भुक्तानी हुन बाँकी रहेको बताइएको छ ।
दार्चुला–डोल्पा ग्रामीण विद्युतीकरण आयोजना अन्तर्गत कैलालीको अत्तरिया निवासी जुनियर टेक्लाक्सले ठेक्काको जिम्मा लिएको थियो । उक्त कम्पनीका अभिषेक गुप्ताले पेटी ठेक्कामार्फत कामको जिम्मेवारी लिएका थिए । उनले पुनः अर्को ठेकेदार मदन छेदाललाई काम जिम्मा लगाएको जनाइएको छ ।
हाल काम गराउने दुवै ठेकेदार सम्पर्कविहीन भएपछि आयोजनाको गाडी मार्मा क्षेत्रबाट नियन्त्रणमा लिइएको वडाध्यक्ष चन्दले बताए । उनका अनुसार मजदुरको बक्यौता रकम भुक्तानी नभएसम्म गाडी फिर्ता गरिने छैन् ।


मजदुरले ज्याला नपाएपछि जनप्रतिनिधिद्वारा बोलेरो नियन्त्रणमा





