यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दार्चुलाका दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीले मात्रै गरेका छन् । महिलाले नेतृत्व गर्ने मतदान केन्द्रमा सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका–४ को महेन्द्र नमुना मावि खलंगा र व्याँस गाउँपालिका–१ को छाङ्गरु मतदान केन्द्र रहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद अवस्थीका अनुसार दुवै मतदान केन्द्रमा कर्मचारी सबै महिला राखिएको हो । महिलाले नेतृत्व गरेको महेन्द्र नमुना मावि खलंगामा ४०४ महिला र ३५९ पुरुष गरी कुल ७९३ जना मतदाता रहेका छन् । यो मतदान केन्द्रमा खटिएका मतदान अधिकृत व्याँस गाउँपालिकाका इन्जिनियर महेश्वरी धामी र सहायक निर्वाचन अधिकृतको रुपमा व्याँस गाउँपालिकाका अधिकृत छैटौ सपना सिंह खटाइएको छ ।
यो मतदान केन्द्रमा सुरक्षाकर्मी पनि महिला नै बढि छन् । मतदान केन्द्रमा स्वयंसेवक पनि महिलालाई प्राथमिकता दिएर नियुक्त गरिएको मतदान अधिकृत महेश्वरी धामीले जानकारी दिइन् ।
यस्तै व्यासको छाङ्गरु मतदान केन्द्रमा महिला १९९ र पुरुष १७६ गरी कुल ३७४ जना मतदाता रहका छन् ।
यस मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा शंकरपुर मावि पस्तीका प्रधानाध्यापक भुवनेश्वरी अवस्थी खटाइएको छ, भने सहायक मतदान अधिकृतको रुपमा स्वास्थ्यकर्मी हरुदेवी खत्री खटाइएको छ । मतदान अधिकृत अवस्थीका अनुसार योपटक हामीलाई विशेष जिम्मेवारी दिइएको छ । महिलाले पनि निर्वाचन गराउन सक्छन् भन्ने हामीले देखाउनु छ । उनले भनिन्, सदरमुकाम खलंगामै भएको कारणले पनि मतदान गराउन सजिलो हुनेछ ।

योपटक प्रतिनिधि सभा निर्वाचनको लागि व्याँस गाउँपालिका–१ को मतदान केन्द्र सदरमुकाम खलंगास्थित वडा नम्बर ५ मा रहेको कैलाशपति आधारभूत विद्यालय छाङ्गरुमा तोकिएको छ । भने तिंकर गाउँको मतदान केन्द्र मोति महिला संघ आधारभूत विद्यालय तिंकर कायम गरिएको छ। यहाँका स्थानीयको गत मङ्सिर महिनामा खलंगा बसाइसरेका कारण निर्वाचन खलंगामै गरिएको हो । मोति महिला संघ आधारभूत विद्यालय तिंकरमा २४४ जना मतदाता रहेका छन् ।







