दार्चुला-बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि दार्चुलाको मतगणनाको सम्पूर्ण तयारी पूरा गरिएको छ । एक मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलामा मतगणनाको लागि महेन्द्र नमुना मावि खलंगाको विद्यालयमा व्यवस्था मिलाइएको छ ।
मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार मतगणनालाई व्यवस्थित र पारदर्शी बनाइएको छ । मतगणकहरूलाई जालीभित्र राखेर सीसीटीभी क्यामेराको निगरानीमा मतगणना गरिने छ । उम्मेदवारका प्रतिनिधिहरूलाई जालीबाहिरबाट प्रत्यक्ष अवलोकन गर्न गरी व्यवस्थापन मिलाइएको उनले बताए ।
‘मतगणना सुरक्षित, पारदर्शी र निष्पक्ष बनाउन आवश्यक सबै तयारी पूरा भइसकेको छ’, मुख्य निर्वाचन अधिकृत गिरीले भने, ‘मतगणनास्थलमा कार्पेट विछ्याउने तारजाली लगाउने, सीसीटिभी जडान तथा विद्युतको बैकिल्पक व्यवस्थाको रुपमा जेनेरेटर तयारी अवस्थामा राखिएको छ ।’ प्रत्यक्षतर्फको मतगणनापछि समानुपातिक मतगणना गर्ने तयारी छ ।
जिल्लामा कुल ९२ हजार ९४८ मतदाता रहेका छन् । जसमा ४५ हजार १९३ महिला र ४७ हजार ७५५ पुरुष मतदाता छन् । जिल्लामा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
जिल्लाभरि ११२ मतदान स्थल र १४३ मतदान केन्द्र छन् भने दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । कारागारमा रहेका बन्दीका लागि कारागारमै मतदान केन्द्र तोकिएको छ । यस मतदान केन्द्रमा २३ जना मतदाता र ७ जना कर्मचारी गरी ३० जना मतदाता छन् । यस्तै समानुपातिक मतदानको लागि घरेलु तथा साना उद्योग कार्यालयमा मतदान केन्द्र तोकिएको छ ।
जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका आधारमा २२ मतदानस्थललाई अति संवेदनशील, ४१ संवेदनशील सूचीमा राखेको छ ।


तारजाली र सीसीटीभीसहित दार्चुलाको मतगणनास्थलमा तयार पारियो




