बिहान रेडियोकर्मी, दिउँसो निर्वाचन प्रहरी

दार्चुला । २०७८ देखि रेडियोमा कार्यरत सारंगी खत्री आसन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन प्रहरीको रूपमा पनि खटिएका छन् । अरु बेला रेडियोमा समाचार वाचन, कार्यक्रम प्रस्तोता र प्राविधिकका रूपमा काम गरेर नागरिकलाई सूचना प्रवाह गर्दैआएकी खत्री निर्वाचन प्रहरीमा भर्ना भएपछि जिल्ला प्रहरी कार्यालयले सदरमुकाम खलंगामा खटाएको छ ।

प्रहरीले खलंगामै खटाएपछि खत्रीले एफएमको ड्युटी पनि जारी राख्न पाएकी छन् । बिहान ५ बजेदेखि १० बजेसम्म रेडियोको ड्युटी र त्यसपछि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म निर्वाचन प्रहरीको ड्युटी गर्दै आएकी उनले बताइन् ।

‘रेडियोको आम्दानीले मात्रै केही पनि पुग्दैन । बेरोजगारी समस्याले अन्य काम पाउने अवस्था छैन,’ खत्री भन्छिन्, ‘त्यसैले छोटो समयका लागि भए पनि केही कमाइ हुने भएपछि निर्वाचन प्रहरीमा भर्ना भएकी हुँ ।’

दार्चुलाकै मार्मा गाउँपालिका(४ घर भएकी खत्री जिल्लामा कार्यरत थोरै महिला पत्रकारमध्ये पर्छिन् । ‘अहिले महिला पत्रकार उत्पादन गर्न निकै समस्या छ,’ नेपाल पत्रकार महासंघ दार्चुलाका निर्वतमान अध्यक्ष कृष्णसिँह धामीले भने, ‘यस्तो अवस्थामा आफ्नो जीविका चलाउन निर्वाचन प्रहरीमा भर्ना हुने कुरा अन्यथा भएन ।’

दुर्गममा बसेर पत्रकारिता गर्नुको पीडा निकै कठिन रहेको उनले बताए । ‘यहाँ पत्रकारिताले मात्रै पनि जीवन धान्न झन गाह्रो छ । हाम्रो जस्तो ठाउँमा महिला पत्रकारहरूको पीडा अझै जटिल छ । यहीकारण धेरैदिन महिलाहरू पत्रकारितामा नटिक्ने समस्या छ,’ धामीले भने ।

खत्री अहिले निर्वाचन प्रहरीमा भर्ती भएपनि भविष्यमा पत्रकारिताबाट चटक्कै बाहिरिने भने सोचिसकेकी छैनन् । यही भएकाले प्रहरी कार्यालयमा कुरा मिलाएर उनी रेडियोको काममा निरन्तरता दिइरहेकी छन् ।

‘रहरले पत्रकारितामा छु । निर्वाचन प्रहरी बाध्यताका कारण बनेकी हुँ । तैपनि चुनावमा प्रहरीकै भूमिकामा भएर पनि देशको सेवा गर्न पाएकामा खुसी पनि छु,’ खत्रीले भनिन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टले निर्वाचनको लागि दार्चुलामा २९७ जना महिला निर्वाचन प्रहरी भर्ना भएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार