दार्चुला । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वतमान प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । बडूले नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलालाई सम्बोधन गरेको पत्र सार्वजनिक गर्दै फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफू उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।
नेपाली काग्रेस जिल्ला कार्यसमितिको मंसिर २५ र २६ गते बसेको विस्तारित बैठकले बडूलाई दार्चुलाबाट एकल नाम प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा सिफारिस गरेको थियो ।
बडूले मुलुकको विकसित राजनीतिक परिस्थिति विशेष गरी भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले सिर्जना गरेको राजनीतिक तथा सामाजिक अवस्थाको कारण आफुले उम्मेदवार नबन्ने इच्छा बैठकमा समेत गरेको उल्लेख गरेका हुन् ।
बडूले पत्रमार्फत पार्टीभित्र निरन्तर सक्रिय रहने भन्दै अहिलेको प्रतिनिधिसभाको लागि इच्छुक र सक्षम नयाँ पुस्ताका साथीहरूलाई उम्मेदवारका रूपमा अघि सार्नुपर्ने धारणा राखेका छन् । आसन्न निर्वाचनमा पार्टी उम्मेदवारलाई विजयी गराउन आफु सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
बडू निवर्तमान प्रतिनिधिसभा सदस्य समेत हुन् ।







