दार्चुला जिल्लाका आठ वटा स्थानीय तहले आफ्नै प्रशासकीय भवन निर्माण गरेका छन् । सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिका बाहेक अन्य सबै स्थानीय तहले आफ्नै प्रशासकीय भवन निर्माण गरेका हुन् ।
आफ्नै प्रशासकीय भवन निर्माण गर्ने स्थानीय तहमा अपि हिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका, व्याँस गाउँपालिका, दुहुँ गाउँपालिका, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिका रहेका छन् । मालिकार्जुन गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामीका अनुसार भवन निर्माणको सबै काम सम्पन्न भइसकेको छ । एक महिनाभित्र नयाँ प्रशासकीय भवनबाट कार्यालय सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । ‘यसअघि २०७४ देखि ०७९ सम्म भाडाका भवनमा पालिका सञ्चालन हुँदै आएको थियो अध्यक्ष धामीले भने, हामी निर्वाचित भइसकेपछि सरकारी भवन प्रयोग ग¥यौं ।’ सरकारी भवनमा प्रयाप्त ठाउँ नहुँदा प्रशासकीय भवन निर्माण पनि सँगै अघि बढेको कारण निर्माणको अन्तिम चरणमा पुगेको हो । पालिकाको वडा नम्बर १ मा वडा कार्यालय भवन निर्माण सकिएको छ ।
सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका भने अझै प्रशासकीय भवनबिना सञ्चालनमा छ । जननिर्वाचित जनप्रतिनिधि आएयता नगरपालिका कर्मचारी आवासीय भवनमा सञ्चालन हुँदै आएको छ । पहिलो निर्वाचित नगर प्रमुख हंसराज भट्टको कार्यकालदेखि हालका नगर प्रमुख नरसिंह चैंसिरको तीन वर्षे कार्यकालसम्म पनि पालिका कर्मचारी आवासमै रहेको छ । नगर प्रमुख चैंसिरका अनुसार प्रशासकीय भवन निर्माणका लागि आवश्यक जग्गा प्राप्ति नहुँदा भवन निर्माण अघि बढ्न नसकेको हो । अझै पनि नगरपालिकाले तत्कालै आफ्नो भवन बनाउन सक्ने अवस्था छैन् ।
भाडाको भवनबाट आफ्नै भवनमा स¥यो शैल्यशिखर नगरपालिका
शैल्यशिखर नगरपालिका भाडाको भवनबाट आफ्नै सुविधायुक्त प्रशासकीय भवनमा सरेको छ । शहरी विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास विभागको सहयोगमा १० करोड १९ लाख रुपैयाँको लागतमा नगरपालिकाको भवन निर्माण सम्पन्न भएपछि सेवा आफ्नै भवनबाट सञ्चालन हुन थालेको हो ।
चाँदनी नमस्कार निर्माण सेवाले भवन निर्माण गरी हस्तान्तरण गरेपछि नगरपालिकाले नयाँ भवनबाट काम सुरु गरेको नगर प्रमुख विजयसिंह धामीले जानकारी दिए । नगर प्रमुखमा निर्वाचित भएपछि भवन निर्माणको प्रक्रिया अघि बढाइएको थियो । नगरपालिकाको वडा नम्बर–९ स्थित साविकको गोकुलेश्वर गाविस भवन रहेको क्षेत्रमा नयाँ प्रशासकीय भवन निर्माण गरिएको हो ।
नगर प्रमुख धामीले भवन निर्माणमा सहयोग गर्ने सबै निकायप्रति आभार व्यक्त गर्दै भने, ‘नगर प्रमुखमा निर्वाचित भएपछि पहिलो प्राथमिकता प्रशासकीय भवन निर्माण नै थियो । सबैको सहकार्य र प्रयासबाट यो काम सफल भएको छ ।’ उनले भौतिक विकासका लागि सबै जनप्रतिनिधि र कर्मचारी एकजुट भएर लागेको पनि बताए ।
भवन निर्माण पहिलो कार्यकालमै बनिदिएको भए हामीले अरु ठाउँको विकास गर्न सक्थ्यौं नगर प्रमुख धामीले भने, तर पहिलेको निर्वाचित सरकारले काम नगर्दा आफुहरुको अठोटले अहिले भवन निर्माण भएको छ ।
यस्तै नौ वडा रहेको शैल्यशिखर नगरपालिकाले चार वटा वडामा नयाँ वडा कार्यालय भवन निर्माण गरेको छ । वडा नम्बर ३, ५, ७ र ८ मा नयाँ भवन निर्माण भई सेवा सुरु भएको नगर प्रमुख धामीले जानकारी दिए ।
अन्य पाँच वटा वडा कार्यालय भने साविकका गाउँ विकास समिति (गाविस) भवनबाट सञ्चालन हुँदै आएका छन् । यसअघि व्यक्तिगत घर भाडामा लिएर सेवा दिनुपर्ने बाध्यता नयाँ वडा भवन निर्माणसँगै सेवा दिन सहज भएको वडा नम्बर–५ का वडा अध्यक्ष जनकसिंह डागाले बताए । ‘अब आफ्नै भवनबाट सेवा दिन पाउँदा सेवाग्राहीलाई समेत सहज भएको छ,’ उनले भने ।







