नख्खु कारागारबाट भागेका कैदी दार्चुलामा पक्राउ

दार्चुला । दार्चुला प्रहरीले नख्खु कारागारबाट फरार रहेका कर्तव्य ज्यान मुद्दाका कैदीलाई पक्राउ गरेको छ । ललितपुरको नख्खु कारागारबाट फरार रहेका कैदीलाई मंगलबार दार्चुला सदरमुकास्थित पुलघाट क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार कैद भुक्तान गरिरहेका कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सजाय तोकिएका मालिकार्जुन गाउँपालिका–७ का २३ वर्षीय दिपक चन्दलाई पुलघाट क्षेत्रबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका सहप्रवक्ता एवं प्रहरी निरीक्षक देबेन्द्रसिह बुढाथोकीले जानकारी दिए ।

बजारमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दार्चुला जिल्ला अदालतले चन्दलाई २५ वर्ष कैद र १ लाख जरिवाना तोकिएको थियो ।

नख्खु कारागारमा सजाय भुक्तान गरिरहेका चन्द २०८२ भदौ २३ र २४ गते देशभर भएको जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते नख्खु कारागारको बन्दीगृहबाट फरार भएका थिए ।

चन्दलाई पक्राउ गरी दार्चुला कारागार पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार