दार्चुलामा जात्राको सुरक्षा व्यवस्थापनमा प्रशासनको चासो

दार्चुला— तिहारसँगै सुरु हुने रात्रिकालीन जात्राको सुरक्षा व्यवस्थापनका विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले विशेष चासो दिएको छ । हरेक वर्ष कात्तिक शुक्ल पक्षदेखि जिल्लाका विभिन्न शक्ति पीठमा लाग्ने जात्रालाई शान्तिपूर्ण र मर्यादित बनाउन तयारी थालिएको हो ।
प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार जात्राका क्रममा कुनै पनि प्रकारका घटना वा सवारी दुर्घटना हुन नदिन प्रभावकारी सुरक्षा रणनीति तयार पारिनेछ । उनका अनुसार मालिकार्जुन गाउँपालिका, शैल्यशिखर नगरपालिका र लेकम गाउँपालिकामा सुरु भएका जात्राका लागि स्थानीय निकाय, मन्दिर व्यवस्थापन समिति र सुरक्षाकर्मीबीच समन्वय बैठक गर्ने तयारी छ ।
यस वर्षको रात्रिकालीन जात्रा कात्तिक ६ गते द्धितिया तिथिबाट सुरु हुँदैछ । पहिलो दिन शैल्यशिखर नगरपालिका अन्तर्गत लटिनाथ मन्दिर बन्तोली र मालिकार्जुन गाउँपालिकाको लटिनाथ कैयलपाल मन्दिर चौडमा जात्रा सुरु हुनेछ ।
लेकम क्षेत्रका जात्रा पूर्णिमाको दिन सम्पन्न हुनेछन् । जिल्लाका ठूला जात्रामध्ये शैल्यशिखर पुजन जात्रा त्रयोदशी तिथिमा र मालिकार्जुन जात्रा चर्तुदशी तिथिमा सम्पन्न हुने जनाइएको छ । जिल्लाको मालिकार्जुन मन्दिर र लेकमको जयपुर जात्रा ठूलो जात्राको रुपमा लाग्ने गर्दछ ।
सुरक्षा व्यवस्थापनसँगै जात्रालाई व्यवस्थित बनाउन जात्रा स्थलमा मदिरा बिक्री वितरणमा कडाइ गर्ने तयारीसमेत प्रशासनले गरेको छ । विगतमा मदिरा विक्री वितरणमा कडाइ गरेकै कारण जात्रा शान्तिपूर्वक भएको भन्दै योपटक सोहि निर्णय दोहार्याउनुपर्नेमा स्थानीयको जोड छ ।

सम्बन्धित समाचार

ताजा समाचार